विश्वका प्रमुख सात देश सम्मिलित जी ७ संगठनका नेताहरूले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग छलफल गर्ने भएका छन् । अर्थतन्त्रमा मजबुत मानिएका ती देशका नेताहरूले युक्रेनलाई गर्न सकिने सहयोगका बारेमा छलफल गर्ने अधिकारीहरूले जनाएका छन् ।
अहिले जी ७ को अध्यक्ष समेत रहेको जर्मनीले नै बैठकको संयोजन गरेको समाचारमा जनाइएको छ । जर्मन प्रवक्ता क्रिश्चियन होफमानले पत्रकारहरुसँग भने, “जर्मनीका चान्सलर अलाफ सोल्जले नै बैठकको संयोजन गर्नुहुने छ ।”
उनका अनुसार भिडियोमार्फत हुने यस्तो बैठक यस वर्षमात्रै अहिले तेस्रो पटक हुन लागेको हो । दोस्रो विश्व युद्ध अन्त्य भएको ऐतिहासिक दिनको रुपमा लिइने मे ८ कै दिन यस पटकको बैठक हुन लागेको जनाइएको छ । बैठकमा विश्वव्यापी समसामयिक विविध विषयमा सामान्य छलफल गरी मुख्य छलफल युक्रेन सङ्कटमा केन्द्रित हुने अधिकारीहरूले जनाएका छन्।
बैठकमा युक्रेनका राष्ट्रपति जेलेन्स्कीले देशको अहिलेको अवस्था र आवश्यकताका बारेमा विश्वका प्रभावशाली ती नेताहरूलाई जानकारी दिनेछन्।
जी ७ का नेताहरू युक्रेनलाई सहयोग गर्ने र रुसलाई आक्रमण अन्त्यका लागि दवाव दिने पक्षमा रहँदै आएका छन् । जी ७ अन्तर्गत क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र अमेरिका पर्दछन् । ती सबै देशले पहिलेदेखि नै युक्रेनको पक्षमा आफ्नो मत जाहेर गरिरहेका थिए भने आ आफ्नो तर्फबाट युक्रेनलाई यसअघि पनि सहयोग गर्दै आएका थिए ।
गत फेब्रुअरीको अन्त्य तिर रुसले युक्रेनमाथि आक्रमण सुरु गरेकोमा अहिलेसम्म सयौँको मृत्यु भएको छ भने लाखौँ विस्थापित भएका छन् । ठूलो भौतिक क्षति पनि भएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ