अमेरिकी सर्वोच्च अदालतले गर्भपतन अधिकारसम्बन्धी राष्ट्रव्यापी कानुन उल्ट्याइदिन सक्ने विवरण भएको एउटा मस्यौदा दस्ताबेज चुहिएपछि अमेरिकालाई स्तब्ध बनाइदिएको छ। “पहिलो मस्यौदा” भनिएको उक्त चुहिएको कागजातले अदालतका बहुमत सदस्यको धारणा प्रतिबिम्बित गरेको ठानिएको छ।
त्यस घटना पश्चात गर्भपतनको अधिकारलाई कायम राख्न अमेरिकाका धेरै सहरमा शनिबार व्यापक प्रदर्शन भैरहेको छ । गर्भपतनको अधिकारका समर्थक केही दिनदेखि सर्वोच्च अदालतको आगामी निर्णयमा आफ्नो ऐक्यबद्धता देखाउन भेला भएका हुन् ।
पीटीआईका अनुसार शिकागो, एटलान्टा, ह्युस्टन र अन्य शहरहरूमा शनिबारको र्यालीमा सहभागीहरूले भविष्यमा यो अधिकारलाई कानुनी रूपमा कायम राख्न संघर्ष गर्ने दृढता व्यक्त गरे ।
यसै साता सर्वोच्च अदालतको धारणा चुहावटका कारण यी विरोध प्रदर्शन भइरहेका छन् । पोलिटिको डटकम नामको वेबसाइटले जारी गरेको रिपोर्ट अनुसार सर्वोच्च अदालतले सन् १९७३ को ‘रो भर्सेस वेड’ अन्तर्गत दिएको निर्णयलाई उल्टाउन सुझाव दिएको छ ।
यद्यपि यो एक लिक भएको धारणा मात्र हो । अदालतको अन्तिम निर्णय आउन बाँकी छ । सर्वोच्च अदालतले करिब छ वर्ष पुरानो फैसला उल्टाएमा राज्यहरूले चाहेमा गर्भपतनमा प्रतिबन्ध लगाउन सक्नेछन् ।
तर महिला अधिकारका लागि काम गर्नेहरु र महिला आफैँ सर्वोच्च अदालतको कथित धारणा सार्वजनिक भएपछि विरोधमा जुटेका छन् । बच्चा कहिले जन्माउने भन्ने कुरामा महिलालाई स्वतन्त्रता दिनुपर्ने उनीहरुको भनाई छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ