नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले नेकपा(बहुमत) गठन हुनुलाई आवेग, कुण्ठा, असहिष्णुता, जडताको संज्ञा दिएका छन्। नेकपाले राजधानीमा गरेको केन्द्रीय समितिको निर्णय बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा विप्लवले केही नेताहरु बहाना बनाएर बाहिर निस्कीने काम भएका बताएका हुन्। उनले भने,‘उहाँहरुले एक प्रकारले बबण्डर मच्चाउने काम गर्नुभयो। त्यो चाहिँ एउटा सुझबुझपूर्ण कदम थिएन। क्रान्तिकारी नेताले सोच्ने परीपक्वता थिएन। त्यहाँभित्र आवेग, कुण्ठा, असहिष्णुता, जडता प्रष्ट देख्थ्यो। उहाँहरुलाई राम्रोसंग सम्झायौं पनि। तर, उहाँहरु मान्नुभएन।’अहिलेको नेपालको सत्तालाई जनताको सत्ताको रुपमा बदल्नु आवश्यक रहेको उनले बताए।
संसदीय पार्टीको चुनावका रुपमा यो चुनावलाई नलिइएको बताए। विप्लवले भने, ‘चुनाव त अस्थायी हो। चुनावमा दलालहरुलाई प्रतिष्पर्धा गर्ने ठाउँका रुपमा उपयोग हुन दिनुहुँदैन।’ नेकपाका नेता धर्मेन्द्र बास्तोला, हेमन्तप्रकाश ओली लगायतले पार्टी संसदीय चुनावमा भाग लिएको भन्दै नेकपा(बहुमत) गठन गरेका छन्।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ