बुधबार, फाल्गुन ६, २०८२

अविरल वर्षाले पोखरा हेम्जाका ३०० घर डुबानमा


कान्तिपथ



गएरातिदेखि परेको अविरल वर्षाका कारण पोखरा महानगरपालिका–२५ हेम्जाका ३०० भन्दाबढी घर डुबानमा परेका छन् । वर्षापछि हेम्जाको सुइखेतस्थित चौरासी नहर फुटेर पानी बस्तीमा पस्दा सुन्दरीचोक र म्याग्दीचोकका घर डुबानमा परेको सोही वडाका वडाध्यक्ष मोतिराज तिमिल्सिनाले बताउनुभयो ।

यसैगरी पहिराले स्थानीय लक्ष्मी विक र रविना परियारको घर पूर्णरुपमा क्षति गरेको र थप १५ घर उच्च जोखिममा रहेको बताइन्छ । डुबान र पहिराका कारण ५०० हाराहारीमा मानिस विस्थापित भएको तिमिल्सिनाले बताउनुभयो ।

बस्तीमा बाढी पस्न थालेपछि राति नै स्थानीय सुरक्षित स्थानतर्फ लागेकाले मानवीय क्षति हुन पाएको थिएन । उहाँले भन्नुभयो, “भारी वर्षापछि नहर फुटेर बस्तीमा पस्दा र खहरे खोला उर्लिएर आउँदा घर डुबानमा परेका छन् । पहिराले दुई घर र कृषि र पशुपक्षीतर्फ धेरै क्षति पु¥याए पनि मानवीय क्षति भएको छैन ।”घर डुबानमा परेपछि स्थानीयलाई सुरक्षित स्थानमा लगिएको थियो । उनीहरु अहिले विद्यालय, मन्दिर तथा आफन्तकामा आश्रय लिएका छन् ।

जिल्ला प्रहरी कार्यालयका कास्कीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले क्षतिको विवरण सङ्कलन भइरहेकाले यकीन विवरण आउन बाँकी रहेको बताउनुभयो ।

यसैगरी अविरल वर्षाका कारण पोखरा–१६ अर्मलास्थित स्यालघारीमा रामबहादुर मगरको घर, पहिरामा बगेर पूर्ण क्षति भएको छ । अर्को एक घर पहिरामा झुन्डिएका अवस्थामा रहेको र सो क्षेत्रका ११ घर उच्च जोखिमका कारण अन्यत्र स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको सोही वडाका वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले जानकारी दिनुभयो । पहिराबाट विस्थापितका लागि आमासमूह र सहकारी भवनको प्रयोग गरिएको उहाँले जानकारी दिनुभयो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत