सडक डिभिजन कार्यालय बैतडीमा जागिर खाने एक सरकारी कर्मचारी नरेन्द्र जोशी बझाङमा ठेक्कापट्टा गरिरहेको खुलेको छ । विधि विधान, नियम कानुनको ठाडो उलङ्घन गर्दै बझाङमा करोडौँका पेटी ठेकेदार भएका छन् उनी ।
छबिसपाथिभेरा गाउँपालिकाले निर्माण गरिरहेको अस्पतालको लागत १२ करोड रहेको छ । अस्पताल निर्माण गर्ने ठेक्का जागृति निर्माण सेवाले पाएको छ । जागृति निर्माण सेवाले निर्माण गरिरहेको अस्पतालको पेटी ठेकेदार भने सडक डिभिजन कार्यालय बैतडीका सुपरभाइजर नरेन्द्र जोशी भएको स्रोतले बतायो ।
छबिसपाथिभेरा गाउँपालिकाले निर्माण गरिरहेको अस्पतालको पेटी ठेकेदार भएर जोशी झन्डै दुई महिनादेखि काम गरिरहेका स्रोतले बतायो । जोशीको कार्यक्षेत्र भाँडेबगर (८४) किलोमिटरदेखि चैनपुर (१०८) किलोमिटरसम्म निरीक्षण गर्ने हो । भाँडेबगरदेखि चैनपुरसम्मको सडक खण्ड काम गर्ने कर्मचारीलाई नियमित काममा खटाउने, अनुगमन गर्ने, सडकको सरसफाइ गर्ने तथा सामान्य मर्मत सम्भार गर्ने जिम्मेवारी जोशीलाई तोकिएको छ ।
सुपरभाइजर जोशी भने सडक खण्डबाट करिब २० किलोमिटर उत्तर छबिसपाथिभेरा गाउँपालिकाको कार्यालय नजिकै जस्ताको छाप्रो बनाएर बसेका छन् । सडकको निरीक्षण गर्ने जिम्मेवारी पाएका जोशी अस्पतालको भवन निरीक्षण गर्दै छन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ