विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले ट्वीटरले सम्झौता बिपरित जानकारी दिन असमर्थ भएको जानकारी दिदै ट्वीटर कम्पनी खरिद नगर्ने घोषणा गरेका छन् ।
मस्कले ट्वीटरलाई एक पत्र पठाउँदै, सम्झौताका विभिन्न प्रावधानहरू उल्लंघन भएकोले ४४ अर्ब डलरमा ट्वीटर खरिद गर्ने सम्झौता भंग गरेको घोषणा गरेका हुन् । शुक्रबार मस्कको टिमले ट्वीटरलाई लेखेको पत्रमा ट्वीटरले सम्झौता विभिन्न प्रावधानहरूको भौतिक उल्लंघन गरेको, ट्वीटरमा रहेका फेक अकाउन्टहरूको बारेमा प्रष्ट जानकारी माग गरेको तर ट्वीटरले त्यो उपलब्ध नगराएको हुँदा खरिद सम्झौताबाट पछि हट्ने निर्णय गरिएको दाबी गरिएको छ ।
ट्वीटरको दाबी अनुसार ट्वीटरमा हाल ५ प्रतिशत फेक तथा स्पाम अकाउन्ट रहेको छ भने मस्कका अनुसार यो संख्या २० प्रतिशत रहेको दाबी गरेका छन् । ट्वीटर त्यहि ५ प्रतिशत फेक तथा स्पाम अकाउन्टको तथ्यांक मस्क लाई दिईरहेका जुन मस्क लाई चित्त बुज्दो नरहेको मस्कको दाबी रहेको छ ।
ट्वीटर अदालत जाने
एलन मस्कले एकतर्फी रुपमा सम्झौता भंग गर्ने निर्णय गरेको विरुद्धमा ट्वीटर कम्पनीले अदालतको ढोका ढक्ढकाउने भएको छ । ट्वीटर कम्पनीका बोर्ड अध्यक्ष ब्रेट टेलरले एक ट्वीटमा भनेका छन्- एलन मस्कसँग भएको सहमति अनुसारको मूल्य तथा शर्तमा खरिद बिक्री कार्यलाई टुंग्याउन ट्वीटर प्रतिबद्ध छ । खरिद सम्झौता लागू गराउनका लागि कानुनी कार्बाहीको योजना बनाइरहेको पनि उनले बताएका छन् ।
उनले डेलावेर अदालतमा मुद्दा हालिने जानकारी दिंदै अदालतमा ट्वीटरको विजय हुने पनि अपेक्षा गरेका छन् ।
वास्तवमा टेस्लाका सीईओ एलन मस्क आफैंले ४४ अर्ब डलरमा ट्वीटर खरिद गर्ने प्रस्ताव गरेका थिए । तर पछि खरिद सम्झौताबाट पछि हट्ने संकेत गर्दै उनले ट्वीटरका फेक तथा स्पाम अकाउन्टको संख्या पाँच प्रतिशतभन्दा कम भएको प्रमाणित गर्नुपर्ने शर्त अगाडि सारेका थिए । ट्वीटरमा यस्ता अकाउन्टको संख्या २० प्रतिशतभन्दा धेरै रहेको उनको दाबी छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ