बिहिबार, बैशाख ३१, २०८३

जिल्ला न्यायाधिशको बैंक खातामा घुसको पाँच लाख !


कान्तिपथ


बाँके जिल्ला अदालतमा कार्यरत न्यायाधीश श्यामसुन्दर अधिकारीलाई न्याय परिषद्ले सर्वोच्च अदालतमा तानेको छ । उनीमाथि उजुरी परेपछि छानबिनका क्रममा सर्वोच्च तानिएको परिषद्ले जनाएको छ ।

मुद्दाको न्याय सम्पादन गर्न बैंकमै रकम जम्मा गराउन थालेपछि उनी जिल्ला अदालत सप्तरीमा रहँदै विवादित थिए । राजविराजका फलफूल व्यापारी सागरकुमार साहले अधिकारीको बैंक खातामै ५ लाख रुपैयाँ जम्मा गरेका थिए । यसका अतिरिक्त साहले आदेश र फैसला प्रभावित पार्न अधिकारीलाई नगदै दिने गरेको खुलेको थियो ।

सप्तरीको सप्तकोसी नगरपालिका–१ फत्तेपुरका मनोजकुमार साहले न्यायाधीश अधिकारीले सागरकुमार साहमार्फत आफ्नो मुद्दा प्रभावित गर्न रकम लिएको भन्दै परिषद्मा उजुरी दिएका थिए ।

पत्नी सुनीताकुमारीलाई सप्तकोसी–२ बस्ने मो अली हुसेनले भगाई विवाह गरेपछि साहले बहुविवाहको मुद्दा चलाएका थिए । हुसेन पक्राउ परी सप्तरी जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि कारागार चलान भए भने सुनीताकुमारी १८ हजार धरौटीमा रिहा भएकी थिइन् ।

उक्त मुद्दामा साक्षी बकपत्रसमेत भई ०७४ सालमा सुनीताले पति मनोजविरुद्ध मानाचामल मुद्दा हालिन् । बहुविवाहको मिसिलसमेत सामेल गरी नियमअनुसार पेस गर्नु भनी जिल्ला अदालतबाट आदेश भयो । दुवै मुद्दाको एकसाथ ०७५ असार २५ गते पेसी तोकिएकामा सुनीता, उनका भाइ विजयकुमार र हुसेनका छोरा मिली सागरकुमारमार्फत न्यायाधीश अधिकारीलाई पैसा दिएर बहुविवाह मुद्दामा सफाइ पाउने गरी फैसला गरेको आरोप मनोजकुमारले उजुरीमा लगाएका थिए ।

फलफूल व्यापारी सागरकुमारले न्यायाधीश अधिकारीको माछापुच्छ्रे बैंकमा रहेको खातामा विभिन्न मितिमा पाँच लाख रुपैयाँ पठाएको भौचर आफुसँग सुरक्षित रहेको भन्दै कान्तिपुरले समाचार प्रकाशित गरेको छ ।

०७४ असोज ३० गते मनाङ जिल्ला अदालतबाट सरुवा भएर सप्तरी आएका न्यायाधीश अधिकारी ०७५ साउन २ गते जिल्ला अदालत कालीकोट सरुवा भएका थिए । सप्तरीमा रहँदा सामूहिक बलात्कारको एउटा मुद्दाको आदेशमा पनि उनी आलोचित भएका थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत