अर्थ मन्त्रालयले डिलिट भएको दाबी गरेको सिसिटिभी फुटेज प्रहरीको विद्युतीय विधि विज्ञान प्रयोगशालाले ‘रिकभर’ गरेको छ। बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश भए/नभएको निर्क्यौलका निम्ति संसदको विशेष छानबिन समितिले सिसिटिभीको हार्डडिस्क प्रहरीको प्रयोगशालालाई बुझाएको थियो।
सोमबार प्रयोगशालाले भिडिओ रिकभर भएको विवरण शिलबन्दी गरेर समितिमा पठाएको थियो। त्यो विवरण समितिको मंगलबारको बैठकमा खोलिएको थियो।
प्रयोगशालाले जेठ १४ को विभिन्न क्लिप्स समितिलाई बुझाएको छ। त्यस दिन तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिलाई प्रवेश गराएर राजश्वको दर हेरफेर गरेको आरोप लागेको छ। साउन ५ मा समिति समक्ष बयान दिँदै उनले उक्त आरोप अस्वीकार गरेका छन्।
समितिका सचिव सुरेन्द्र अर्यालले कतिपय कुरा बुझ्नुपर्ने भएकोले फरेन्सिक ल्याबकै प्राविधिक राखेर फेरि हेर्न लागेको बताए। अर्थमन्त्री जनार्दन शर्माले १४ जेठ राति बजेटलाई अन्तिम रुप दिँदा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गराएको भन्दै २२ असारमा गठित ११ सदस्यीय समितिले अर्थको सीसीटीभी अध्ययन गरेको थियो।
सीसीटीभी फुटेज नै डिलिट भएपछि त्याे रिकभरका लागि ४ साउनमा प्रहरीको फरेन्सिक ल्याब पठाइएको थियो। ल्याबले सोमबार (९ साउन) मा समितिलाई फरेन्सिक ल्याब रिपोर्ट बुझाएको थियो।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ