योजनाबद्ध रूपमा व्यक्ति हत्या गरी बिमा कम्पनीबाट २ करोड ५० लाख रूपैयाँ भुक्तानी लिने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । बिमा कम्पनीबाट भुक्तानी लिनकै लागि दुई जनाको विवाह गराइएको र श्रीमान्लाई योजनाबद्ध रूपमा दुर्घटनामा मारिएको तथ्य प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) को अनुसन्धानमा खुलेको हो ।
२०७८ साल वैशाख २ गते भे १ ख २४९१ नम्बरको मिनीबसले ठक्कर दिई घाइते भएका सर्जन विकको उपचारका क्रममा नेपालगन्ज मेडिकल कोहलपुरमा मृत्यु भएको थियो । टोपबहादुर राना क्षेत्रीले चलाएको मिनीबसले ठक्कर दिँदा उनको मृत्यु भएको हो । टिपरमा बालुवा लोडको काम सकी सर्जन राति ११ बजे भे १० प १७२७ नम्बरको मोटरसाइकलमा फर्कने क्रममा दुर्घटनामा परेका हुन् ।
दुर्घटनापछि वैशाख २७ गते जिल्ला अदालत बाँकेमा सवारी ज्यान मुद्दा दर्ता भयो । २०७८ माघ २५ गते अदालतले चालक रानालाई ३० दिन कैद र २ हजार जरिवाना सुनायो । मोटरसाइकल धनी सरदार अहमद खाँ (जो बिमा अभिकर्ता पनि थिए) उनलाई भने अदालतले सफाइ दिएको थियो ।
सर्जन विकको नाममा गरिएको सावधिक जीवन बिमा र म्यादी जीवनबापत २ करोड ५० लाख रुपैयाँ दाबी भुक्तानी लिएपछि घटना शंकास्पद देखिएको हो । मृतककी श्रीमती सपना मल्लले रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीबाट भुक्तानी लिई कोहलपुरस्थित कामना विकास बैंकको खातामा उक्त रकम जम्मा गरिसकेकी थिइन् । तर नेपाल पुनर्बिमा कम्पनी लिमिटेडले २०७८ साल फागुन ३० गते सीआईबीलाई सर्जन विकको सवारी दुर्घटनाबाट भएको भनिएको मृत्यु शंकास्पद देखिएको भन्दै अनुसन्धान गर्न पत्र लेख्यो । रिलायन्सले पनि ठगीसम्बन्धी कसुरमा अनुसन्धान गर्न पत्र लेख्यो ।
सपना मल्ल वैदेशिक अध्ययनका लागि जापान जान लगेज बोकेर गत सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेकी थिइन् । साथीभाइ र आफन्तले खादा र माला लगाइदिएर बिदाबारी पनि गराइसकेका थिए ।
बिहान ७ बजे उड्ने नेपाल एयरलाइन्सको विमानमार्फत काठमाडौं, दिल्ली हुँदै टोकियो पुग्ने टिकट थियो । त्यही अनुसार ५ बजे नै बिदाइ सकेर उनी सुरक्षा जाँच पार गरिसकेकी थिइन् । जाँच पार गरेर लगेज जोखिसकेको अवस्थामा उनी उडानका लागि अन्तिम जाँच कक्षमा थिइन् ।
तर उडान हुनु केही समयअघि मात्रै एकाएक सादा पोशाकका चार/पाँच जना प्रहरीले पुगेर उनलाई केरकार गर्न थाले । उड्ने बेलामा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रहरी हौं भन्दै सोधपुछ हुन थालेपछि उनी असिनपसिन भइन् ।
पक्राउ पूर्जी लिएर विमानस्थल पुगेको प्रहरीले उनको हातमा हत्कडी लगायो । वैदेशिक अध्ययन र उज्जवल भविष्यको परिकल्पना गर्दै विमानस्थल पुगेकी सपनाको सपना विमानस्थलमै तुहियो । उनलाई प्रहरीले पक्राउ गरेर हिरासतमा लियो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ