निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले फेरि अर्थमन्त्रालयको जिम्मेवारी सम्हाल्न नजाने बताएका छन्। चालु आर्थिक वर्षको बजेट निर्माणका क्रममा गत जेठ १४ गते राति मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गराएको आरोप लागेपछि असार २२ मा पदबाट राजीनामा दिएका शर्माले शनिबार यस्तो बताएका हुन्।
जावलाखेलस्थित निजी निवासमा भेट्न आएका आफूनिकट माओवादी नेताहरूसँगको छलफलका क्रममा तत्कालै अर्थमन्त्रालयमा फर्किने पक्षमा नरहेको शर्माले बताएका हुन्।
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अर्थमा जनार्दनलाई नै फर्काउन तयार छन्।
११ सदस्यीय संसदीय विशेष छानबिन समितिले सफाइ दिएको भोलिपल्ट शनिबार निवासमै माओवादीका केही नेताहरूसँगको कुराकानीका क्रममा शर्माले अर्थमा नफर्किने अडान लिएका हुन्।
पार्टीको महासचिव सम्हाल्नेबारे सोचिरहेका वर्षमान पुन पनि छोटो समयको अर्थमन्त्री खाने सोचमा छैनन्। विभिन्न विवादमा पसेको, अर्काले ल्याएको बजेट कार्यन्वयन गर्न आफु नजाने भन्दै वर्षमान तर्किएका छन् ।
यसअघि पुनले जनार्दन नै अर्थमा फर्किने बताएका थिए। शर्माको यो भनाइ आइरहँदा बालुवाटारबाट प्रधानमन्त्री देउवा पनि उनैलाई ल्याउने योजनामा रहेको स्रोत बताउँछ। स्रोतका अनुसार प्रचण्डसँगको छलफलमा पनि देउवाले जसरी हुन्छ शर्मालाई नै ल्याउनुपर्छ भनेका थिए।
पछिल्लो समय अर्थमा जान हरिबोल गजुरेलले खुट्टा उचालेका छन्, तर स्रोतका अनुसार हरिबोल बन्ने स्थितिमा जनार्दन र वर्षमान दुवै रोक्न लागि पर्ने छन् । माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजेका लागि स्थायी कमिटी बैठक बोलाइएको हो।
आजको बैठकमा केन्द्रीय पदाधिकारी र पोलिटब्युरो चयनका विषयमा छलफल हुने एक स्थायी कमिटी सदस्यले जानकारी दिए।
आजको बैठकमा अर्थमन्त्री र अनेरास्ववियू (क्रान्तिकारी) भित्र देखिएको विवाद समाधानका गठित सुझाव समितिले दिएको सुझावका विषयमा पनि छलफल हुने जनाइएको छ।
बजेट बनाउँदा अनधिकृत व्यक्ति प्रवेश गराएको आरोप लागेपछि शर्माले २२ असारमा अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए।
उनीबारे छानबिनका लागि संसदीय छानबिन विशेष समिति गठन गरिए पनि उसले शर्माविरुद्ध कुनै प्रमाण नभेटिएको भन्दै सफाइ दियो।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ