बुधबार, फाल्गुन ६, २०८२

सप्तकोसीमा पानीको बहावमा उतारचढाव


कान्तिपथ



सप्तकोसी नदीमा पानीको बहावमा उतारचढाव हुने क्रम जारी छ । गए राति कोसी ब्यारेज भएर प्रति सेकेन्ड दुई लाख ४२ हजार नौ सय ६५ क्युसेकका दरले पानीको बहाव रहेको थियो ।

आज बिहान ६ बजे दुई लाख २९ हजार तीन सय पाँच क्युसेक प्रतिसेकेन्ड पानीको बहाव रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । यसैगरी आज बिहान ८ बजेको मापनअनुसार दुई लाख २८ हजार २५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव रहेको छ ।

कोसी ब्यारेजका ५६ मध्ये अहिले ४१ ढोका खोलिएका छन् । कोसी नदी ओभरफ्लो भई उदयपुरको बेलाका नगरपालिका डुम्रीबोटेको बस्तीतर्फ गएको भए पनि कोसी ब्यारेजबाट पानीको बहाबमा भने उतारचढाव हुने क्रम जारी रहेको प्रजिअ यादवले बताउनुभयो ।

सप्तकोसीमा पानीको बहावमा भइरहेको उतारचढावका कारणले श्रीलङका टापु, सप्तरीको गोवरगढा, उदयपुरको बेलका नगरपालिकाको डुम्रीबोट र लाखखोचको उत्तरतर्फ जमिन कटान थालेको प्रजिअ यादवले जानकारी दिनुभयो । कटान गरेको क्षेत्रका स्थानीयवासीलाई सुरक्षित स्थानमा लैजान उद्धार टोली तयारी अवस्थामा छ ।

स्थानीयवासीलाई तयारी अवस्थामा बस्नका लागि समेत सूचना जारी गरिएको प्रजिअ यादवले बताउनुभयो । कोसीबाट कुनै किसिमको मानवीय क्षति तथा अन्य क्षति हुन नदिनका लागि स्थानीय प्रशासनले अपनाउनुपर्ने सबै सावधानीका उपाय अवलम्बन गरिएको उहाँले बताउनुभयो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत