बुधबार, बैशाख २, २०८३

किवी खेतीबाट हौसिएका नवीनको १० रोपनीमा किवी खेती


कान्तिपथ


अछाम । अछामको रामारोशन गाउँपालिका वडा नम्बर १ मलातिकोट, तालिमा किवी खेती फस्टाएको छ । स्थानीय युवा कृषक नवीन साउदले गरेको किवी खेती लोभलाग्दो तरीकाले उत्पादन भएको हो ।
१० रोपनी जमिनमा लगाएको किवी खेती यस वर्ष प्रशस्तै मात्रामा उत्पादन भएको छ । नवीनको बारीमा ८५ वटा किवीका बिरुवाबाट उत्पादन भइरहेको छ भने २ वर्ष अगाडि रोपेका ३ सय बिरुवा मध्ये १ सय ८० बिरुवा आगामी वर्षबाट उत्पादन दिने गरि तयार भइसकेका छन् ।
५ वर्ष अघि १०० बिरुवा लगाएका उनको बारिबाट ८५ बिरुवाले २ वर्ष अघि देखी उत्पादन दिइरहेका छन् । किवी उत्पादन भएको पहिलो वर्षमा ६० हजार आम्दानी गरेकोमा गत वर्ष १ लाख २० हजारको किवी बिक्री गरेको उहाँले सुनाउनुभयो । यस वर्ष भने करिब ३ लाखको किवी बजार पठाउने नवीनको योजना छ ।
रहरलाग्दो गरि किवी खेतीमा रमाइरहेका युवा कृषक साउदका अनुसार यो वर्ष बारीमा १० क्विन्टल बढी किवी फलेको छ । किवी खेतीका लागि प्रत्येक ८ पोथी बिरुवा बराबर १ भाले बिरुवा रोप्नुपर्छ । बारीमा बेला बेलामा मलखाद र काँटछाँट गर्नुपर्छ । बिरुवा रोपेको तेस्रो वर्षबाट फल्न सुरु हुने किवीबाट वर्षौँ सम्म लाभ लिन सकिने नवीनको विश्वास छ ।

“अबको एक महिना (मंसिर) भित्र बारीको किवी बजार पठाउन योग्य भइसक्छ” नवीनले भने – “भण्डारण र बजारको उचित व्यवस्था नहुँदा थप लगानी गर्न र व्यवसाय विस्तार गर्न अप्ठेरो भएको छ ।” स्थानीय सरकार लगायत सम्बन्धित निकायबाट सकारात्मक सहयोग गरेमा आगामी दिनमा यसलाई बृहत् बनाएर व्यावसायिकतालाई थप विस्तार गर्ने उहाँको योजना छ ।
आफूले किवीको नर्सरी बनाउने प्रयास गरेपनि सफल भई नसकेको उहाँको भनाई छ । उहाँले ओखरका बिरुवा भने उत्पादन गरेर बिक्री गर्ने गरेका छन् । कृषिबाटै समृद्धि सम्भव रहेको बताउँदै उहाँले युवाहरू मेहनती र लगनशील भएर कृषि कर्म गर्न सके आत्मनिर्भर समाज निर्माण गर्न सकिने बताउनुभयो ।
गाउँपालिका र कृषि ज्ञान केन्द्रको सहयोग
अछाममा नयाँ फलको रुपमा रहेको किवी खेतीका लागि रामारोशन गाउँपालिका अन्तरगत ग्रामीण जलश्रोत व्यवस्थापन परियोजनाको फलामे ट्रष्ट तथा कृषि ज्ञान केन्द्रको बिरुवा अनुदान प्राप्त गरेका नवीनले बाँकी आफ्नै लगानी गरेका छन् । राम्रो हुने देखेपछि उहाँले किवी खेतीलाई व्यवसायीक रुपमा विस्तार गरेका हुन ।
नवीन केही वर्ष अघि डडेल्धुराको किवी बारीको अवलोकन गर्न गएका थिए । “देखेकै भरमा किवी खेतीको सुरुवात गरियो, राम्रो उत्पादन हुन थालेपछि अहिले त अरूले पनि किवी मास्टर नै भन्छन्” – नवीनले हाँस्दै भने ।
नवीन मात्र होइन अहिले मलातिकोटको तालीमा किवी खेतीको कृषक समूह नै छ । नवीन साउँद सहित त्यहाँका ७ जना युवाहरू मिलेर किवी खेती कृषक समूह निर्माण गरि किवी खेती गरिरहेका छन् । स्थानीय युवाहरू बम बहादुर साउँद, तारा साउद, कटक साउँद, लाल बहादुर साउँद, महेन्द्र साउँद र मीन बहादुर साउदले लगाएको किवीका बिरुवा पनि केही वर्षमै फल्ने तयारीमा छन् ।
रामारोशन गाउँपालिका वडा नम्बर १ मलातिकोटका अध्यक्ष चक्र बहादुर साउँदले पनि आफूहरूले कृषिलाई प्राथमिकतामा राखेको बताउनुभयो । हरेक नागरिकले कृषि मा आत्मनिर्भर बन्नुपर्छ भन्ने आफ्नो बिगत देखिको धारणा रहेको भन्दै अध्यक्ष साउदले नवीन र अन्य युवाहरूले गरेको कृषि कर्मको प्रशंसा समेत गर्नुभयो ।

“बढीभन्दा बढी उत्पादन भएमा कोल्ड स्टोरका लागि गाउँपालिका र प्रदेश तथा संघीय सरकारमा पनि पहल गर्न सकिन्छ”, अध्यक्ष साउदले भने –“अन्य जातका फलफूल खेती र तरकारी तथा पशुपालनका लागि स्थानीय सरकारबाट प्रोत्साहन गर्न सकिन्छ ।”
किवी फलको महत्त्वबारे पर्याप्त जानकारी नहुँदा किसान उत्साहित हुन सकेका छैनन् । अछाममा बजारको पनि समस्या रहेको युवा कृषकहरूको भनाई छ ।
जिल्लामा कोल्ड स्टोर नहुँदा फलफूल तथा तरकारी र बिउँ भण्डारणको समस्या रहेको वडा अध्यक्ष साउदको भनाई छ ।
किवी कस्तो फल हो त ?
यो अण्डा आकारको फल हो, जो बोटमा लहरामा झुण्डिएको शैलीमा फल्छ । बाहिर काँडा अर्थात् झुस जस्तो हुन्छ भने काटेर हेर्दा हल्का हरियो रङ्गमा गुदी देखिन्छ । किवीलाई उसिनेको आलु जसरी बोक्रा छोडाएर वा चम्चाले गुदी झिकेर खान सकिन्छ । यो निकै पोषिलो र औषधीय गुण समेत भएकाले यसको माग बढेको हो ।
किवी नियमित खानाले पाचन प्रणाली ठिक हुने, मधुमेह नियन्त्रण हुने, लामो समयसम्म जवान देखिने, भिटामिन सीको कमी पूर्ति गर्ने लगायतका फाइदाहरू छन् । ‘फलहरूको राजा’ र ‘द सुप्रिम फ्रुट’ को उपाधि पाएको यो फल नेपालको लागि निकै नयाँ र आयमूलक फल हो ।

एक रोपनी जमिनमा १५ वटा सम्म किवी फलको बिरुवा लगाउन सकिन्छ । बिरुवा लगाएको पहिलो वर्ष २ पटक मल र ४–५ पटक गोडमेल गरेर पुग्ने यो फल ताजा फलफूल मध्ये विश्वकै नयाँ र महँगो फल पनि हो । ताजा फलको रुपमा र जुस, जाम, वाइन, जेल्ली, आइसक्रिम, केक, बिस्कुट र अरू धेरै परिकार बनाइ यसलाई सेवन गर्न सकिन्छ !
उत्पादन
बिरुवा लगाएको २–३ बर्ष देखि उत्पादन सुरु गर्ने किवीको बिरुवाले करिब ४० देखि ६० बर्ष सम्म नै निरन्तर उत्पादन दिने गर्दछ । सातौँ बर्ष देखि किवीले राम्रो गुणस्तर सँगै उत्पादन पनि एउटै बिरुवाले ५० देखि १०० किलो सम्म फल फलाउँछ ।
हावापानी
यो फल नेपालको भूगोल अनुसार १२०० देखि २४०० मिटरको उचाइमा लगाउन सकिन्छ । गर्मीको समयमा ३५ डिग्री सेल्सियस भन्दा तापक्रम बढी नभएको र शरद (असोज, कार्तिक) र बसन्त (चैत, वैशाख) मा बाक्लो तुषारो नपर्ने वातावरणमा किवी राम्रो फस्टाउँछ । हिउँदमा पात झर्ने भएकोले हिउँ पर्दा खासै असर नगर्ने यस बिरुवालाई असिनाले भने असर गर्दछ र यसबाट बचाउन हिउँदमा जाली ओढाउन सकिन्छ ।
बजार
नेपालमा किवी प्रति किलोग्राम ४०० देखि ८०० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ भने यो फल प्रशस्त उत्पादन गरी विदेश निर्यात गर्न सकेमा लाखौँ विदेशी मुद्रा आर्जन गर्न सकिन्छ ।
यो २ फिट को खाडल खनेर मल र माटोको मिश्रण राख्ने त्यसपछि नयाँ पालुवा आउन अघिको बिरुवालाई रोपेर खेती गर्न सकिन्छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत