शुक्रबार, बैशाख ४, २०८३

बढ्दो ब्याजदर र आयात प्रतिबन्धका कारण बन्द हुन थाले सवारीसाधन बिक्रीका शोरुम


कान्तिपथ


facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button
viber sharing button
sharethis sharing button

काठमाडौँ । सरकारले वैदेशिक मुद्राको सञ्चिति जोगाउन सवारी साधनको आयातमा लगाएको प्रतिबन्धका कारण केही शोरुम बन्द भएका छन् । सरकारले विद्युतीय सवारी साधनको आयातमा रोक नलगाएको भए पनि डिजेल तथा पेट्रोलबाट चल्ने चार पाङ्ग्रे गाडी आयातमा प्रतिबन्ध लगाइएको छ ।

देशमा विदेशी मुद्राको सञ्चितिमा कमी भएको भन्दै सरकारले गत वैशाखयता निजी प्रयोजनमा हुने कार, भ्यान तथा जिप आयातमा रोक लगाएको छ । लामो समयदेखि आयात रोकिएका देशभर सञ्चालित गाडीका अधिकांश डिलर बन्द हुन थालेको नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले जनाएको छ । गत साउनसम्मको विवरण अनुसार यस क्षेत्रमा बैङ्क तथा वित्तीय संस्थाको झण्डै रु ९५ अर्ब लगानी भएको छ । एकातिर बैङ्क तथा वित्तीय संस्थाको ब्याजमा भएको वृद्धि तथा आयातमा भएको प्रतिबन्धका कारण व्यवसायी मारमा परेका छन् ।

नाडाको पछिल्लो तथ्याङ्क अनुसार आयातमा लगाइएको प्रतिबन्धका कारण ५८ डिलर बन्द भएका छन् । यस्तै, थप एक सयसम्म शो रुम बन्द हुने क्रममा पुगेका छन् । जसमा प्रदेश नं १ मा नौ, मधेस प्रदेशमा ११, वाग्मती प्रदेशमा १८, गण्डकी प्रदेशमा सात, लुम्बिनी प्रदेशमा तीन, कर्णाली प्रदेशमा सात र सुदूरपश्चिम प्रदेशमा तीन वटा शोरुम बन्द भएका हुन् ।

नाडाका अनुसार हाल नेपालमा एक हजार २५ वटा सवारी साधन बिक्री गर्ने शोरुम छन् । जसमा प्रदेश नं १ मा एक सय ४५, मधेस प्रदेशमा ९५, वाग्मती प्रदेशमा तीन सय ७८, गण्डकी प्रदेशमा एक सय ८२, लुम्बिनी प्रदेशमा एक सय पाँच, कर्णाली प्रदेशमा ६२ र सुदूरपश्चिम प्रदेशमा ५८ वटा शोरुम छन् ।

नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेती सवारी साधनको आयातमा लगाइएको प्रतिबन्ध लम्बिँदा यो व्यवसाय नै धरापमा परेको बताउनुहुन्छ । “हामीले सरकारसँग पटक/पटक गाडी आयातमा लागेको प्रतिबन्ध हटाउन आग्रह गर्दै आएका छौँ, सरकारबाट प्रतिबन्ध हट्ने आश्वासन पार्यौँ, तर हटाइएन”, उहाँले भन्नुभयो, “मङ्सिर मसान्तपछि पनि आयात प्रतिबन्ध कायमै रहेमा काठमाडौँ उपत्यकामा सञ्चालित सबै डिलर बन्द हुनेछन् ।”

उहाँले लामो समयदेखि कारोबार नहुँदा बैङ्कबाट ऋण लिएर कर्मचारीको व्यवस्थापन गर्नुपरेको बताउनुभयो । “वैशाखदेखि गाडी आएको छैन, गाडी नभए पनि हामीले कर्मचारीलाई तलबदेखि प्रशासनिक खर्च नियमित रुपमा भइरहेको छ, साना गाडीका डिलरहरूले खर्च धान्न नसक्दा बन्द गरिसकेका छन्, यही अवस्था जारी भएमा ठूला गाडीका शोरुमसमेत बन्द हुने अवस्था आयो”, उहाँले भन्नुभयो ।

उहाँले हाल केही डिलरले वैकल्पिक व्यवस्था गरेर काम गराएर कर्मचारीको व्यवस्थापन गर्न थालेका छन् भने अधिकांश डिलरले पछि राख्ने सहमतिमा कर्मचारी कटौती गर्न थालेका जानकारी दिनुभयो । देशभरका गाडीका डिलर बन्द भएसँगै एक हजारभन्दा बढी कर्मचारी जागिरबाट निकालिएको नाडाले जनाएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत वैशाख १३ गते देशमा विदेशी मुद्रा सञ्चितिमा कमी आएको भन्दै राजपत्रमा सूचना प्रकाशन गर्दै विभिन्न दश वस्तु आयातमा प्रतिबन्ध लगाएको थियो । पछिल्लो समय सरकारले उक्त वस्तुको आयात प्रतिबन्धलाई निरन्तरता दिँदै आगामी मङ्सिर मसान्तसम्मका लागि निरन्तरता दिएको छ ।

अन्य वस्तुको प्रतिबन्धलाई खुलाए पनि सरकारले सबै प्रकारका तयारी मदिरा (औद्योगिक कच्चापदार्थ), तीन सय अमेरिकी डलरभन्दा बढी मूल्यका स्मार्टफोन, एम्बुलेन्स र शवबाहनबाहेक जिप, कार र भ्यान एवं एक सय ५० सिसीभन्दा माथिका मोटरसाइकलको आयात मङ्सिर मसान्तसम्म रोकेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत