आइतवार, चैत्र २९, २०८२

काठमाडौँमै गाई र भैँसीपालनबाट मासिक १० लाख आम्दानी


कान्तिपथ


काठमाडौं ।मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले सफल भइन्छ भन्ने राम्रै उदाहरण बन्नुभएको छ रामकोटका भैँसीपालन व्यवसाय सञ्चालन गर्दै आउनुभएका गोरखाका इन्जिनियर कुमार लामिछाने ।

नागार्जुन नगरपालिका–६ रामकोट डाँडापौवामा गोरखा सिरानचोक गाउँपालिका–७ खहरेका लामिछानेले गाई र भैँसीपालन गरेर मासिक रु १० लाख आम्दानी गर्दै आउनुभएको हो ।

पेसाले सिभिल इन्जिनियर लामिछानेले विसं २०७७ जेठमा क्षितिज एकीकृत कृषि फार्म प्रालिको स्थापना गरी गाई र भैँसीपालन गर्दै आउनुभएको छ । लामिछानेले रु १५ करोड लगानीमा सुरुको समयमा ३० भैँसीबाट आफ्नो व्यवसाय सुरुआत गर्नुभएको हो । अहिले उहाँको गोठमा एक सय ५० भैँसी र ७० गाई छन् । बीचको समयमा उहाँले तीन सयसम्म भैँसीपालन गरे पनि अहिले धेरै भैँसी बिक्री वितरण गरेर गाईसमेत पालन सुरु गर्नुभएको छ ।

विसं २०७२ देखि सिभिल इन्जिनियर पेसा अँगाल्नुभएका लामिछानेकी श्रीमती सङ्गीता पनि इन्जिनियर नै हुनुहुन्छ । “सुरुमा म इन्जिनियर भएका कारण कन्स्ट्रक्सनको काम मात्र गर्थेँ, विगत तीन वर्षदेखि इन्जिनियर पेसासँगै भैँसी र गाईपालन व्यवसाय सुरु गरेको हुँ, यस व्यवसायबाट राम्रै आम्दानी भएको छ”, लामिछाने भन्नुहुन्छ ।

उहाँको गोठबाट हाल दैनिक एक हजार लिटर दूध उत्पादन हुन्छ । उत्पादन भएको दूधमध्ये पाँच सय लिटर काठमाडौँका विभिन्न दूध डेरीमा पठाउने र बाँकी पाँच सय लिटर दूध व्यक्तिको घर–घरमा पु¥याउने गरेको उहाँले सुनाउनुभयो ।

लामिछानेका अनुसार हाल भैँसीको दूधको मूल्य प्रतिलिटर रु एक सय ५० र गाईको दूधको मूल्य प्रतिलिटर एक सय १० रहेको छ । उहाँको फार्ममा हाल २० कर्मचारी कार्यरत छन् । दूध बिक्रीबाट मासिक रु ३० देखि ३५ लाख आम्दानी हुँदै आए पनि खर्च कटाएर रु १० लाख बचत हुने गरेको उहाँले बताउनुभयो । गाई र भैँसीलाई उहाँहरूले पराल र दाना खुवाउँदै आउनुभएको छ । गाई र भैँसीको मलसमेत उहाँले बिक्री गर्नुहुन्छ ।

लामिछानेले काठमाडौँमा गाईपालन र भैँसीपालनबाट राम्रो आम्दानी गर्न थालेपछि गृहजिल्ला गोरखामा समेत उक्त फार्मको शाखा विस्तार गर्नुभएको छ । उहाँले गोरखाको सिरानचोक–७ खहरेमा ५० भैँसी र ५० बाख्रापालन गर्नुभएको छ ।

यस्तै सोही ठाउँमा दुई सय रोपनी क्षेत्रफलमा तरकारी खेतीसमेत गरिएको छ । गोरखामा भने चारजनालाई रोजगारी दिएको उहाँले बताउनुभयो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत