शुक्रबार, चैत्र २७, २०८२

भारतीय र चिनियाँ सेनाबीच सीमा क्षेत्रमा झडप


कान्तिपथ


२६ मंसिर, काठमाडौं ।

अरुणाचल प्रदेशको तवांग क्षेत्रमा भारत र चीनका सैनिकबीच झडप भएको भारतीय सेनाका प्रवक्ताले बताएका छन्। उक्त घटना ९ डिसेम्बरमा भएको बताइएको छ।

भारतीय सेनाले बीबीसीलाई बताए अनुसार त्यस दिन पीएलएका सेना अरुणाचल प्रदेशको तवांग सेक्टरमा प्रवेश गरेपछि भारतले जबाफी कारबाही गरेको थियो। 

उक्त झडपमा दुवै पक्षका केही सैनिक घाइते भएका छन्। 

दुई देशबीचको विवादित सीमा क्षेत्र रहेको ‘लाइन अफ एक्चुअल कन्ट्रोल’ मा भएको झडपमा दुवैतर्फका केही सैनिक घाइते भएको जनाइएको छ ।

यस क्षेत्रमा विगतमा पनि झडप हुने गरेको थियो । भारत र चीनको विवादित भूभाग अरुणाचलमा हाल भारतको नियन्त्रण रहेको छ । उक्त क्षेत्रलाई चीनले दक्षिणी तिब्बत भन्दै दाबी गरिरहेको छ ।

लद्दाखको गलवान उपत्यकामा सन् २०२० को जुन महिनाको १५ तारिखमा दुई देशका सैनिकहरूबीच भएको हिंसात्मक झडपपछिको यस प्रकारको यो पहिलो घटना हो। त्यसबेला २० भारतीय सैनिक मारिनुका साथै कैयौँ घाइते भएका थिए। 

चीनले यस घटनाबारे कुनै वक्तव्य जारी गरेको छैन।

सैनिक र कुटनीतिक तहमा सीमा विवाद सल्टाउने र उक्त क्षेत्रमा शान्ति कायम गर्ने विषयमा पटक—पटक वार्ता भए पनि समस्या हल हुन सकेको छैन । पछिल्लोपटक अक्टोबर २०२१ मा सीमा नजिकैको याङ्सेमा क्षेत्रमा दुई देशका सैनिक आमनेसामने भएका थिए।

त्यसअघि सन् २०२० को जुन महिनामा पूर्वी लद्दाखको गलवान उपत्यकामा झडप भएको थियो । उक्त झडपमा करिब दुई दर्जन भारतीय सैनिक र केही चिनियाँ सैनिकको मृत्यु भएको जनाइएको थियो । त्यसअघि भुटान नजिकैको विवादित सीमा क्षेत्र दोक्लाममा पनि भारतीय र चिनियाँ सैनिकबीच झडप भएको थियो ।

त्यसअघि सन् १९६२ मा भारत र चीनबीच सीमा विवादका कारण युद्ध भएको थियो ।

उक्त युद्धपछि दुई देशका सैनिकले एकले अर्काविरुद्ध हतियार नचलाऔने सहमति भए बमोजिम युद्ध भने भएको छैन । हतियारबन्द युद्ध नभए पनि दुई देशबीच तनाव भने निरन्तर दोहोरिँदै आएको छ ।

झडपको खबरलाई लिएर कांग्रेसले भारतीय जनता पार्टी (भाजपा)को सरकारलाई ‘आफ्नो डगमगे मनोवृत्ति छाड्न’ आग्रह गरेको छ।

विपक्षी कांग्रेसले ट्वीटमार्फत् भनेको छ, “अरुणाचल प्रदेशको तवांग सेक्टरमा भारत र चीनका सैनिकहरूबीच झडप भएको खबर छ। सरकारले चीनलाई उसको कार्य स्वीकार्य छैन भनेर कडा रूपमा बुझाउने समय आएको छ।”



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत