युक्रेनका उच्च पदस्थ सैन्य अधिकारीहरूले अंग्रेजी नयाँ वर्षलाई लक्षित गरेर युक्रेन माथि भयंकर ठूलो आक्रमणको तयारीमा रुस रहेको दाबी गरेका छन् ।
द गार्डियन पत्रिकासँगको अन्तर्वार्तामा युक्रेनका रक्षामन्त्री ओलेक्सी रेज्निकोभले जाडोयाममा युक्रेनको उर्जा संकटलाई थप गम्भीर बनाउन ऊर्जा संरचनामा आक्रमण भईरहे पनि आक्रमणको राम्रै प्रतिकार भइरहेको बताए । तर रुसका राष्ट्रपति भ्लादिमिर पुटिन भने अंग्रेजी नयाँ वर्षलाई लक्षित गरेर विशाल स्तरको आक्रमणको योजना बनाईरहेको उनको भनाइ छ ।
युक्रेन युद्ध लम्बिँदै गएपछि युक्रेनका पश्चिमी सहयोगीहरू थकित हुन थालेको देखिएपछि युक्रेनी रक्षामन्त्रीले यस्तो चेतावनी दिएको हुनुपर्छ ।
रुसले आंशिक सैन्य परिचालन अन्तर्गत लगभग ३ लाख सैनिक तैनाथी गरेकाले भविष्यमा थप कठिन लडाइँहरूका लागि तयारी गरिरहेको युक्रेनको बुझाइ छ ।
‘परिचालनको दोस्रो चरणअन्तर्गत लगभग डेढ लाख सैनिकहरूले विभिन्न शिविरमा प्रशिक्षण थालेका छन्,’ रेज्निकोभले बताए ।
‘युद्धको प्रशिक्षण लिनका लागि नयाँ सैनिकहरूलाई कम्तीमा तीन महिना लाग्छ,’ उनले थपे, ‘अक्टोबर महिनाबाट प्रशिक्षण थालेका उनीहरू डिसेम्बर अन्त्यसम्ममा तयार भइसक्नेछन् ।’
पुटिनले यो युद्ध सन् २०२३ मा पनि जारी रहन सक्ने संकेत यसअघि नै दिइसकेका छन् । युद्ध रोक्नका लागि रुससँग कुनै कारण नरहेको रुसी टिप्पणीकारहरू बताउँछन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ