बुधबार, बैशाख ३०, २०८३

महिला सहकारीको ३४ लाख चोरी, व्यवस्थापक नियन्त्रणमा


कान्तिपथ


उर्लाबारी, पुस २४ गते । मोरङको मिक्लाजुङ गाउँपालिका –३ टाँडीस्थित चुरेफेदी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३४ लाख रुपियाँ चोरी भएको छ । शुक्रबार राति सहकारीको पैसा राख्ने भल्ट कार्यालय नजिकै फेला परेपछि सहकारीको पैसा चोरी भएको थाहा भएको थियो । व्यवस्थापकको जिम्मामा रहेको ३४ लाख रुपियाँ चोरी भएपछि सहकारीका व्यवस्थापक मेनुका नेपालीलाई  प्रहरीले नियन्त्रणमा लिएको छ । 

इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक मिलन थापाले संस्थाका व्यवस्थापक मेनुका नेपालीलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको बताउनुभयो । प्रहरीले सहकारीका अध्यक्ष मीना कार्की र कर्मचारी प्रकाश खनालसँग पनि आवश्यक सोधपुछ गरेको छ । दुई जना बचत सङ्कलकलाई भने प्रहरीले आवश्यक सोधपुछपछि छाडेको छ । 

बचतकर्ताले जम्मा गरेको ३४ लाख रुपियाँ चोरी भएपछि शेयर सदस्यहरूले त्यति ठूलो रकम किन बैंकमा जम्मा गरिएन भनेर प्रश्न उठाएका छन् । प्रहरी निरीक्षक मिलन थापाले भन्नुभयो, “कति पैसा भल्टमा थियो भन्ने विषयमा सञ्चालक र कर्मचारीहरू नै यकिन हुनुहुन्न ।” 

शेयर सदस्यहरूले अरु नै बेला हिनामिना गरेको रकम हिसाब मिलान गर्न चोरी गरेको बहाना बनाएको हुनसक्ने आरोप लगाएका छन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । अनुसन्धानपछि घटनाबारे खुल्ने प्रहरी निरीक्षक थापाले बताउनुभयो । 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत