सल्यान । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले १५ मङ्सिर २०७७ सालमा तामझामका साथ देशभर एकै दिन भर्चुअल प्रविधिबाट अस्पतालको शिलान्यास गर्नु भयो । सोही अनुसार सल्यानका ८ पालिकामा पनि आधारभूत अस्पतालको शिलान्यास गरियो ।
सल्यानको ६ वटा पालिकामा १५ शय्या र २ वटा पालिकामा १० शय्याको अस्पताल निर्माणका लागि शिलान्यास भयो । शिलान्यास भएको दुई वर्षभित्रमा नै अस्पताल निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर अस्पताल निर्माणको उपयुक्त स्थान, डिपीआर नगरी हचुवाका भरमा शिलान्यास गरिएको अस्पताल दुई वर्ष बितिसक्दा समेत अहिले पनि अघि बढ्न सकेका छैनन् ।
आफ्नै पालिकामा आधारभूत तहको अस्पताल निर्माण हुन थालेको भन्दै स्थानीयहरू पनि खुसी भए । तर गाउँमै विशेषज्ञ सहितको स्वास्थ्य उपचार सेवा पाउने स्थानीयको सपना भने पुरा हुन सकेको छैन । अस्पताल निर्माणको लागि शिलान्यास भएको २६ महिना हुँदा पनि केही पालिका अझै जग्गा खोज्दै छन् भने केही पालिकामा भवन निर्माण अलपत्र परेको छ ।
बनगाड कुपिण्डे नगरपालिकाकी दिलमाया खत्रीले स्वास्थ्य उपचारका लागि सल्यान जिल्ला अस्पताल खलङ्गा वा सुर्खेत जानुपर्ने बाध्यता रहेको बताउनु भयो । ‘पालिकामै विशेषज्ञ उपचार सेवा पाउने आसमा बसेको २६ महिना भएको छ, तर अहिले सम्म पनि भवन निर्माण भएको छैन, यसै वर्षदेखि मात्र भवन निर्माणको थालनी भएको छ, त्यो कहिले पुरा हुन्छ थाहा छैन उहाँले भन्नुभयो ।
छत्रेश्वरी गाउँपालिकाका महेश घर्तीको पिडा पनि दिलमायाको भन्दा फरक छैन । तामझामको साथ शिलान्यास भएको भवन अलपत्र पर्दा उपचारका लागि जिल्ला अस्पताल वा निजी मेडिकलमा जानुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । ‘जनतालाई आश्वासन दिनकै लागि हतारमा भवन शिलान्यास भयो, तर अहिले काम हुन सकेको छैन, पालिकामै विशेषज्ञ उपचार पाउनबाट नागरिक बञ्चित भएका छन्’ उहाँले भन्नुभयो ।

जिल्लाको बागचौर नगरपालिका र सिद्ध कुमाख गाउँपालिका बाहेक अरू ६ वटा पालिकामा भवन निर्माणको काम शुरु भएको थियो । तर केही पालिकामा काम रोकिएको छ । दार्मा गाउँपालिकाको भल्चौरमा आधारभूत अस्पतालको पहिलो तलाको ढलान सकेर दोस्रो तलाको ढलानको तयारी हुँदै छ । कुमाख गाउँपालिकाको कालागाउँमा अस्पतालको पहिलो तलाको ढलानको तयारी छ ।
कालीमाटी गाउँपालिकाको रामपुरमा पनि भवन निर्माण कार्य जारी छ । शिलान्यास भएर पनि जग्गा अपुग हुँदा निर्माण रोकिएको बन्गाड कुपिण्डे नगरपालिकामा अस्पताल निर्माणको काम यसै वर्षदेखि शुरु भएको स्वास्थ्य शाखा प्रमुख वासुदेव पोख्रेलले जानकारी दिनुभयो । ‘पहिले शिलान्यास गरिएको ठाउँमा जग्गा पुगेन, स्थानीयबाट जग्गा प्राप्त भएपछि अम्रामा भवन निर्माणको थालनी भएको छ’ उहाँले भन्नुभयो ।
छत्रेश्वरी गाउँपालिकाको लेखपोखरामा अस्पताल भवन निर्माण कार्य अलपत्र छ । निर्माण कम्पनीले जग्गा सम्याउने र छड लगायतका सामाग्री निर्माण स्थलसम्म पुर्याए पनि बाँकी काम अघि बढ्न सकेको छैन । शिलान्यास भएको स्थानमा जग्गा कम हुँदा कपुरकोट गाउँपालिकाको धनवाङमा भवन निर्माण कार्य रोकिएको छ । अस्पतालका लागि ७ रोपनी जग्गा हुनुपर्नेमा करिब २ रोपनी जग्गामा नै शिलान्यास गरेर निर्माण शुरु भएकाले अहिले भवन निर्माण कार्य रोकिएको गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले जानकारी दिनुभयो ।
‘पहिले गरिएको डिपिआर स्वीकृत भएन जग्गा कम हुँदा रकम निकासामा पनि समस्या भएको छ, जग्गाको व्यवस्थापन नगरेर शिलान्यास गरेर कामको थालनी गर्दा समस्या भएको हो’ उहाँले भन्नुभयो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ