शुक्रबार, जेष्ठ १, २०८३

दिलीप महतोको हत्यामा संलग्न तीन जना दोषी ठहर


कान्तिपथ


धनुषा- धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरका दिलीप भनेर चिनिने ओमप्रकाश महतोको हत्यामा संलग्न तीन जनालाई जिल्ला अदालतले दोषी ठहर गरेको छ ।

जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको एकल इजलासले घटनामा संलग्न विपीन महतो, जीतेन्द्र महतो र मुनिन्द्र महतोलाई दोषी ठहर गरेको हो ।

हत्यामा संलग्न रहेको आरोप लागेका अन्य चार जनालाई भने सफाइ दिइएको अदालतका स्रेस्तेदार विकास बस्नेतले जानकारी दिनुभयो ।

घटनामा संलग्न रहेको दाबी प्रमाण नपुगेपछि उनीहरूलाई सफाइ दिइएको बस्नेतले बताउनुभयो । उहाँका अनुसार दोषी ठहर भएकाको हकमा सजाय फागुन १२ गते सुनाइनेछ ।

विसं २०७६ पुस २५ मा खोलाको अवैध उत्खनन रोक्न गएका धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरका २४ वर्षीय महतोको टिपरले किचेर हत्या गरिएको थियो । दिलीपलाई कोखामा फलामको लिभर प्रहार गरी घाइते बनाएर टिपरले किचेर निर्ममतापूर्वक हत्या गरिएको थियो ।

दिलीपको हत्यापश्चात् एक महिनाको अनुसन्धानपछि जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । क्रसर उद्योग सञ्चालक विपीनलगायतले उनलाई फलामको लिभर र पेचकसले क्रुरतापूर्वक प्रहार गरेको प्रहरी अनुसन्धानबाटै पुष्टि भएको थियो ।

अभियोगपत्रमा दिलीपलाई यातना दिई क्रुरतापूर्वक हत्या गरेको भन्दै सात जनालाई मुलुकी अपराध संहिता, २०७४ को दफा ४१ बमोजिम जीवित रहेसम्म कैद सजाय माग गरिएको छ ।

दिलीपका बुबा रामजीवनले मनसायपूर्वक हत्या गरेको भन्दै चुरियामाई बालुवा प्रशोधन उद्योग सञ्चालक विपीनकुमार महतो, उनका दाई विनोदकुमार महतो र उद्योगमा कार्यरत मुनिन्द्र महतो, जीतेन्द्र महतो, सत्यनारायण महतो, शत्रुधन महतो र दिलीपका साथी रोशनकुमार यादवविरुद्ध मुद्दा दायर गर्नुभएको थियो ।

उद्योग सञ्चालक विपीन तथा कर्मचारी मुनिन्द्र र जीतेन्द यसअघि नै जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेको आदेशमा मुद्दाको फैसला नहोउञ्जेलसम्म पूर्पक्षका लागि कारागारमा छन् । विनोद, रोशन, सत्यनारायण र शत्रुधनले भने मुद्दामा सफाइ पाएका छन् । उनीहरू चार जना यसअघि नै धरौटीमा छुटिसकेका थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत