नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंमा सोमबार पनि थुनछेक बहस जारी रहने भएको छ। जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा भइरहेको थुनछेकबारे आरोपितहरू नरेन्द्र केसी, शमशेर मियाँ, गोविन्द चौधरी र लक्ष्मी महर्जनको प्रतिरक्षा बहस हुनेछ।
उनीहरूको बहस आइतबार नै हुने तय भए पनि प्रतिरक्षा गर्ने वकिलहरू नभएका कारण हुन सकेको थिएन। उनीहरूको पक्षको बहस सकिएपछि पूर्वगृहमन्त्री बालकृष्ण खाणको पक्षमा थुनछेक बहस हुनेछ।
खाणको पक्षबाट तीन पूर्वमहान्यायाधिवक्ता, नेपाल बार एसोसिएसनका अध्यक्ष र दुई पूर्वअध्यक्ष सहितका वरिष्ठ अधिवक्ताहरूले बहस गर्नेछन्।
खाणको पक्षबाट पूर्वमहान्यायाधिवक्ताहरू खम्मबहादुर खाती, रमणकुमार श्रेष्ठ र महादेवप्रसाद यादवले बहस गर्नेछन्। त्यस्तै बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले पनि बहस गर्नेछन्।
बारका दुई पूर्वअध्यक्षहरू प्रेमबहादुर खड्का र शेरबहादुर केसी, सर्वोच्च बारका पूर्वअध्यक्ष हरिहर दाहाल, डेमोक्रयाटिक लयर्स एसोसिएसनका अध्यक्ष योगेन्द्र अधिकारी सुरेन्द्र महतो लगायतका वरिष्ठ अधिवक्ताहरूले बहस गर्ने तय भएको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ