बुधबार, चैत्र २५, २०८२

देशभर वर्षाको सम्भावना ,सतर्क रहन आग्रह


कान्तिपथ


काठमाडौं। मनसुन सक्रिय रहेकाले देशको अधिकांश स्थानमा वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी वायुको प्रभावले आज दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रही कोशी, मधेस प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी, मधेस प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको विभागले जारी गरेको बुलेटिनमा उल्लेख गरिएको छ । गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै तथा बाँकी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ ।

राति देशभर सामान्यदेखि पूर्णतया बदली भई कोशी, मधेस प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका साथै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना छ ।

भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेकाले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटनलगायतका क्षेत्र प्रभावित हुनसक्ने तसर्थ भारी वर्षा, मेघगर्जन/चट्याङ, हावाहुरी, गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत