पोखरा । गण्डकी प्रदेशमा १८ प्रतिशत मात्र रोपाइँ भएको छ। गण्डकी प्रदेशमा मध्ये असार अर्थात् असार १५ गते सम्म १८ प्रतिशत रोपाइँ मात्र भएको कृषि विकास निर्देशनालयले जनाएको छ ।
मध्ये असारमा कास्की जिल्लामा ३० प्रतिशत वा ५ हजार १ सय ७५ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ । गोरखामा १२ प्रतिशत रोपाइँ हुँदा लमजुङमा भने गोरखाको भन्दा दोब्बर बढी रोपाई भएको छ। यहाँ २ हजार ५ सय ११ हेक्टरमा मात्रै अहिलेसम्म रोपाइँ भएको छ।यस्तै तनहुँमा २० प्रतिशत अर्थात् १ हजार ७ सय ३ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ भने पर्वतमा १४ प्रतिशत अर्थात् १ हजार ९० हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ। स्याङ्जामा अहिलेसम्म १२ प्रतिशत अर्थात् १ हजार ८ सय १८ हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ हुँदा म्याग्दीमा अहिलेसम्म १२ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ भने बाग्लुङमा कुल १ हजार १ सय ७७ हेक्टर अर्थात् २० प्रतिशतमा मात्रै रोपाइँ भएको छ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा ढिलो गरि रोपाइँ हुने गरेको छ । गत वर्ष १८ हजार ८ १६ हेक्टर क्षेत्रफलमा धान खेती लगाइएको उक्त जिल्लामा अहिलेसम्म १ हजार ८ सय ८१ हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ, जुन १० प्रतिशत मात्रै हो।
गण्डकी प्रदेशका ११ जिल्लाहरू मध्ये गण्डकी प्रदेशका नौ वटा जिल्लाहरूमा मात्रै धान खेती हुने गरेको छ। हिमाल पारीको जिल्लाका रूपमा चिनिने मनाङ र मुस्ताङमा भने धान खेती हुँदैन।
गण्डकीमा सावित्री, राम धान, च्याम्पियन, मकवानपुर, आपझुत्ते, मानिसरा, मनसुली, अनदी, कालो मसिनो, यु।एस, महाराजा, होलसी, बहुबुडी, हर्दिनाथ, जेठो बूढो, पहेँले, गुर्दी, एक्ले, खुमल, गौरिया, झिनुवा, बिरमफूल, पोखरेली जेठो बूढो, गुर्जा, लुम्ले, माछापुच्छ्रे, जर्नेली, सुगन्ध, हाइब्रिड लगायतका जातका धान लगाउने गरेको निर्देशनालयका प्रमुख वासुदेव रेग्मीले जानकारी दिनुभयो । गण्डकीमा करिब ३ लाख मेट्रिक टन धान फल्ने गरेको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ