शनिबार, अशोज १३, २०८०

गोपाल खड्काले अरुको नाममा लुकाएको साढे ७ करोड जफत हुने


कान्तिपथ


नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्कालाई एक वर्ष तीन महिना कैद सजाय तोकिएको छ। गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा दोषि ठहर गर्दै विशेष अदालतले उनलाई शुक्रबार सजाय सुनाएको हो।

विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र खुसीप्रसाद थारुको इजलासले खड्काको नाममा रहेको घरजग्गा, बैंक मौज्दात, सेयरलगायतका सम्पत्ति जफत हुने आदेश गरेको छ।

अख्तियारले २३ पुस २०७५ मा खड्काविरुद्ध मुद्दा दायर गरेको थियो। गोपालसँगै उनकी श्रीमती शर्मिला खड्कालाई समेत प्रतिवादी बनाइएकोमा शर्मिलाका नाममा रहेको कित्ता नं. १५२२ र १४२३ मा रहेको घरसमेत जफत हुने भएको छ।

यसै मुद्दाकी अर्की प्रतिवादी अमिता लामा सोदेम्बाको नाममा रहेको जग्गासहितका सम्पत्ति पनि जफत हुने भएको छ।
अख्तियारले सिजी डेभलपर्स प्रालिलाई पनि प्रतिवादी कायम गरेकोमा उक्त कम्पनीको सम्पत्ति पनि जफत हुने फैसला भएको छ।

२०६९ चैत २ गतेदेखि निगमको कार्यकारी निर्देशक रहेका खड्काले पदमा बहाल रहँदा २७ करोड ३० लाख ७५ हजार ३८० रुपैयाँ खर्च तथा लगानी गरेकोमा ८ करोड ६४ लाख ६९ हजार ७५१ को मात्र स्रोत खुलेको दाबी अख्तियारले गरेको थियो।

पदमा बहाल रहँदा ४० लाख ५७ हजार १५५ पारिश्रमिक, जग्गा बिक्रीवापत ५८ लाख ७५ हजार, ऋण सापटीको ५ करोड ३३ लाख ३६ हजार, घरभाडावापत १३ लाख ५६ हजार, जागिरबाट अवकाश हुँदा प्राप्त गरेको २९ लाख २२ हजार, पेन्सनवापत प्राप्त १४ लाख ७८ हजार, विप्रेषण आयबाट प्राप्त ८ लाख २६ हजार, गाडी बिक्रीवापतको ३५ लाख, छोरा–बुहारीको पारिश्रमिकबाट ११ लाख ४ हजार गरी ७ करोड ४४ लाख ५६ हजार २५२ मात्र खड्काको वैध आम्दानी रहेको अख्तियारको दाबी थियो।

उनले पुख्र्यौली घरबाहेक ३ वटा घर निर्माण तथा खरीद गरेको, २ वटा घर खरीदका लागि आंशिक भुक्तानी दिएको तथा काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेका विभिन्न स्थानमा ११ कित्ता जग्गा खरिद गरेको अनुसन्धानबाट खुलेको थियो।

घर खरिदमा ११ करोड ६१ लाख ४३ लाख, विभिन्न कम्पनीको शेयर खरिदमा १ करोड ६ लाख ४ हजार, ऋणको साँवा–ब्याज भुक्तानीमा ४ करोड २२ लाख ९६ हजार २३९, व्यक्तिगत रूपमा दिएको सापटीवापत १ करोड २५ लाख ६० हजार, विभिन्न व्यक्ति तथा संस्थालाई दिएको चन्दा तथा सहयोग १ करोड १७ लाख खड्काले लगानी गरेको देखिएको छ।

छोराछोरीको अध्ययन र सामाजिक व्यवहारमा भएको खर्च २५ लाख १४ हजार ६९५, गाडी खरिदमा १ करोड १७ लाख ४२ लाख, सुपर मार्केटहरूमा खर्च गरिएको १ करोड ८० लाख १६ हजार, ५५ भन्दा बढी बैंक, वित्तीय संस्था र सहकारीमा २ करोड ७१ लाख ५३ हजार र उनी सार्वजनिक सेवामा प्रवेश गरेदेखि २ चैत २०६९ सम्म २ करोड २ लाख ७० हजार गरी करिब रु २७ करोड ३० लाख ७५ हजार खर्च तथा लगानी गरेको अनुसन्धानबाट खुलेको थियो।

अख्तियारले अन्य व्यक्तिको नाममा लुकाइराखेको ७ करोडभन्दा बढीको सम्पत्तिसमेत जफतको मागदाबी गरेको थियो।

खड्काको गैरकानूनी सम्पत्ति श्रीमती शर्मिला खड्काको नाममा घर जग्गा र अमिता लामा सोदेम्बाको नाममा ७ करोड ५४ लाख ५७ हजार ८७५ बराबरको सम्पत्ति लुकाएको दाबी अख्तियारले गरेको थियो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत