बुधबार, फाल्गुन ६, २०८२

भीषण गर्मी र डढेलोको कारण ग्रीसमा जनजीवन प्रभावित


कान्तिपथ


रोड्स, ग्रीस। ग्रीसमा बढ्दो तापक्रमको प्रभावले धेरै लोकप्रिय पर्यटकीय टापुहरूमा डढेलो लागेको र यसका कारण ठूलो सङ्ख्यामा मानिसहरू स्थानान्तरण हुन बाध्य भएका मङ्गलबार ग्रीक अधिकारीहरूले बताएका छन् ।

देशका धेरै क्षेत्रहरूमा तीव्र हावाको कारण जङ्गल र वरपरका वस्तीमा खतरनाक डढेलोको जोखिम भएको भन्दै ‘रेड अलर्ट’ सूचना जारी गरिएको छ ।

ग्रीसको रोड्स र कोर्फु टापुको जङ्गलमा लागेको डढेलोबाट हजारौं स्थानीय र पर्यटक भागेपछि निकै तातो मौसम सुरु भएको हो र ग्रीक प्रधानमन्त्रीले गर्मीले आक्रान्त राष्ट्र आगोको ज्वालासँग ‘युद्धमा’ रहेको बताउनुभएको छ ।

वल्र्ड वेदर एट्रिब्युसन समूहका वैज्ञानिकहरूले यस महिना युरोप र उत्तरी अमेरिकाका केही भागहरूमा आएको गर्मीको प्रकोप मानव कारणले हुने जलवायु परिवर्तनबिना लगभग असम्भव हुने बताएका छन् ।

ग्रीक प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले मन्त्रीपरिषद्को बैठकमा भन्नुभयो, “हाम्रो अगाडि अर्को कठिन ग्रीष्मऋतु छ । राष्ट्र अहिले आगोको ज्वालासँग ‘युद्धमा’ रहेकोे छ ।”

A firefighter stands next to a fire truck as the fires approaches the village of Vati, just north of the coastal town of Gennadi, in the southern part of the Greek island of Rhodes on July 25, 2023. Some 30,000 people fled the flames on Rhodes at the weekend, the country’s largest-ever wildfire evacuation as the prime minister warned that the heat-battered nation was “at war” with several wildfires and spoke of three difficult days ahead.. (Photo by Angelos Tzortzinis / AFP)

विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) ग्रीसले गत साता मात्रै ३५ हजार हेक्टर (८६ हजार ५ ०० एकड) वन तथा अन्य जमिन डढेलोका कारण प्रभावित भएको जनाएको छ ।

राजधानी एथेन्समा ४१ डिग्री सेल्सियस (१०६ डिग्री फरेनहाइट) र मध्य ग्रीसमा ४४ डिग्री सेल्सियससम्म तापक्रम पुग्ने अनुमान गरिएको राष्ट्रिय मौसम पूर्वानुमानकर्ता ईएमवाईले जनाएको छ ।

ग्रीसको कोर्फु टापुबाट सोमबार करिब दुई हजार ५०० मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ । रोड्स टापुमा दसौं हजार मानिसहरू पहिले नै भागेका छन् भने त्रसित पर्यटकहरू उद्धार उडानहरूमा घर फर्कन हतारिइरहेका छन् ।

रोड्समा लगातार आठौं दिन पनि आगोको ज्वालासँग २६० भन्दा बढी अग्निनियन्त्रकहरू लडिरहेका छन् भने उनीहरूलाई दुई हेलिकप्टर र अन्य दुई विमानहरूले सहयोग गरिरहेका छन् ।

ग्रीसको यातायात मन्त्रालयले आइतबार र सोमबार दुई हजार १०० भन्दा बढी व्यक्ति आपतकालीन उडानमार्फत घर फर्किएको जनाएको छ ।

ग्रीसको दोस्रो ठूलो टापु इभियामा पनि डढेलो लागेको थियो, जहाँ ग्रीक सुरक्षा अधिकारीहरूले एक उत्तरी इलाकामा रातभर खाली गरी सुरक्षित स्थलतर्फ जान निर्देशन गरेका थिए ।

मित्सोटाकिसले ग्रीसको राज्य संयन्त्रले ‘ठूलो चुनौती’ को सामना गर्नुपरेको बताउनुभएको छ । दक्षिणी पेलोपोनी प्रायद्वीपको गाइथियोमा आइतबार तापक्रम ४६.४ डिग्री सेल्सियस पुगेको थियो तर राष्ट्रिय स्तरमा सबैभन्दा तातो तापक्रम ४८ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ ।

बिहीबारदेखि उच्च तापक्रम घट्ने पूर्वानुमान गरिएको छ भने प्रधानमन्त्री मित्सोटाकिसले देशले ‘अर्को कठिन तीन दिन’ को सामना गर्नुपर्ने चेतावनी दिनुभएको छ ।

ग्रीसको भीषण गर्मी दक्षिणी युरोप र उत्तरी अफ्रिकामा पनि प्रतिबिम्बित भएको छ ।

अल्जेरियाको आवासीय क्षेत्रमा लागेको डढेलोका कारण कम्तीमा ३४ जनाको मृत्यु भएको छ ।

दक्षिण–पूर्वी फ्रान्समा अधिकारीहरूले सोमबार बाउचेस–डु–रोन क्षेत्रमा उच्च स्तरमा डढेलोको चेतावनी जारी गर्दै मौसमको अवस्था खतरनाक भउको सङ्केत गरेको छ ।एएफपी



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत