शुक्रबार, जेष्ठ १, २०८३
  • गृहपृष्‍ठ
  • अपराध
  • बालुवाटार काण्डमा जोडिएका ठुला ब्यापारी समात्ने सरकारको तयारी !

बालुवाटार काण्डमा जोडिएका ठुला ब्यापारी समात्ने सरकारको तयारी !


कान्तिपथ


१९८६ सालदेखि ८९ सालसम्म प्रधानमन्त्री बनेका श्री ३ महाराज भीमशमशेरले किनेको र पछि उनका शाखासन्तानमा हस्तान्तरण हुँदै आएको बालुवाटारको २९९ रोपनी जग्गा र त्यहाँ निर्मित दरबार आजभोलि ‘ललिता निवास’ भनेर चर्चित छ । मालपोतको अभिलेखअनुसार उक्त जग्गा भीमशमशेरले १९८८ सालमा खरिद गरेका हुन् । ललिता निवास भीमशमशेरले छोरा हिरण्यशमशेरलाई अंश दिए । पछि हिरण्यशमशेरबाट उनका छोरा सुवर्णशमशेरमा हस्तान्तरण भयो ।

सुवर्णशमशेरले २०१७ असार २९ गते श्रीमती श्वेतप्रभाका नाममा ५८ रोपनी तथा तीन छोरा कनक, काञ्चन र रुक्मशमशेरलाई ५७ रोपनीका दरले ‘हालैको बकसपत्र’ गरिदिए । बाँकी ६१ रोपनी ११ आना जग्गा आफ्नै नाममा राखे । यसबाहेक केही जग्गा बाटामा गयो ।

काठमाडौंको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा अहिलेसम्म २१ जना आरोपी प्रहरी हिरासतमा पुगेका छन्। नक्कली मोही सञ्जयकुमार महर्जन र सकुलानन्द महर्जन पक्राउ परेसँगै हिरासतमा रहनेको संख्या २१ पुगेको हो।

आइतबार जोरपाटी क्षेत्रको नयाँबस्तीस्थित आफ्नै निवासबाट नापी विभागका तत्कालीन कर्मचारी तथा अमिन अरुण कुमार श्रेष्ठलाई सीआईबीले पक्राउ गरेको थियो।

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ, निर्वाचन आयोगका पूर्व आयुक्त सुधीरकुमार शाह लगायत व्यक्ति सीआईबीको हिरासतमा छन्। पक्राउ परेकासहितहरुको समूहले विभिन्न ४ चरणमा ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पुर्‍याएर हत्याएको सीआईबीले जनाएको छ।

अन्तरिम सरकारको उक्त निर्णयपछि मालपोतमा लेखनदासको काम गर्दै आएका रामकुमार सुवेदी र शोभाकान्त ढकालको योजनामा नक्कली मोही खडा गरेर २०४९ सालदेखि सरकारी जग्गा व्यक्तिको नाममा ल्याइएको खुलेको छ।

२०६७ सालमा भने सभामुख, मुख्यसचिव निवासमा बाटो निकाल्ने नाममा २७र२८ रोपनी सरकारी जग्गा मासिएको खुलेको छ। २०६९ सालमा भने सरकारी जग्गा गुठीको नाममा ल्याएर हत्याइएको पाइएको सीआईबीको अनुसन्धानले देखाएको छ। यसरी ४ पटकमा १४३ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा ल्याइएको अनुसन्धानले देखाएको छ।

यो प्रकरणमा विभिन्न हाईप्रोफाइल व्यवसायीहरु पनि तानिने भएका छन्। जसमध्ये केहीविरुद्ध पक्राउ पुर्जीसमेत जारी भएको छ भने केही अनुसन्धानमै रहेका छन्।

केडिया अर्गनाइजेशनका कार्यकारी निर्देशक तथा सिद्धार्थ बैंकका अध्यक्ष मनोज केडियासमेत सीआईबीको अनुसन्धानको घेरामा छन्। ललिता निवासको सरकारी जग्गा केडियाको नाममा रहेको पाइएपछि सीआईबीले यस विषयमा अहिले अनुसन्धान गरिरहेको छ।

नेपाल लाइफ इन्स्योरेन्सका अध्यक्ष गोविन्दलाल संघाई पनि सीआईबीको खोजी सूचीमा छन्। उनको नाममा पनि ललिता निवासको सरकारी जग्गा रहेको खुलेपछि उनलाई पनि अनुसन्धानको दायरामा ल्याएर मुद्दा चलाउने तयारी सीआईबीको छ।

नागरिकता नम्बर २९८३/८८४५ रहेका संघाईले ललिता निवासको सिट नम्बर १०२५–१५ मा कित्ता नम्बरहरु ५०१, ४५७, ५००, ४९७ र ४८९ का जग्गाहरु आफ्नो नाममा पारेका छन्।

नेपालमा किया गाडीका बिक्रेता पुरुषोत्तम पौडेल पनि सीआईबीको खोजी सूचीमा छन्। नेपालस्थित किया गाडीको आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजका अध्यक्ष र कार्यकारी निर्देशक हुन् पौडेल।

किया मोटर्सकै अर्का व्यवसायिक साझेदार सुह्दराज घिमिरे पनि सीआईबीको खोजी सूचीमै छन्। घिमिरेको सासूको नाममा ललिता निवासको जग्गा देखिएपछि उनी पनि अनुसन्धानमा तानिएका हुन्। घिमिरेकी सासू इन्दु शर्माको नाममा ललिता निवासको करिब १३ रोपनी जग्गा रहेको खुलेको छ।

गोयल समूहका अध्यक्ष तथा सनराईज बैंकका संस्थापक शेयरधनी कैलाशचन्द्र गोयल पनि ललिता निवास प्रकरणमा जोडिएका छन्। गोयलको डीएलएफ डेभ्लपर्सको नाममा ललिता निवासको १९ रोपनी जग्गा देखिएको छ।

ललिता निवासमा जोडिएका अर्का हाईप्रोफाइल व्यवसायी हुन् शारडा ग्रुपका अध्यक्ष शिवरतन सारडा। विराटनगरको औद्योगिक घराना शारडा ग्रुपका सञ्चालक शारडा सीआईबीको खोजी सूचीमा छन्।

व्यापारी सिपिका खेतान, मीनबहादुर गुरुङका भाइ पहलमान गुरुङ पनि अनुसन्धानमा केन्द्रमा छन्। सञ्जयकुमार चाचन, प्रमोश शेरचन, प्रमोद गुरुङ लगायत मुछिएपछि व्यापारीहरू जग्गा किन्नेलाई मुद्दा चलाउने तयारीमा सीआईबी छ। ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघमा १७५ जनालाई प्रतिवादी बनाउँदै भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ। ४ पटकमा गरी सरकारी जग्गा व्यक्तिको नाममा ल्याइएको पाइएकाले लिखतसम्बन्धी चार वटा कीर्ते कसुरमा मुद्दा चलाउने तयारी सीआईबीको छ।

ललिता निवास प्रकरणमा नाम जोडिएका हाईप्रोफाइल व्यापारीहरु अधिकांशजसो भागेर अहिले भारत पुगेको आशंका गरिएको छ। यो प्रकरणमा जग्गा खरिद गरेकै कारण भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेपछि उनीहरु अधिकांशजसो फरार भएर भारत पुगेको नेपाललाईभले लेखेको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत