इजरायलको मध्य र दक्षिण क्षेत्रमा प्यालेस्टाइनको हमास समूहले गरेको रकेट हमलामा नेपाली पनि घाइते भएका छन् । शनिबार साँझ इजरायलको तेलअभिभस्थित नेपाली राजदूतावासबाट परराष्ट्र मन्त्रालयलाई प्राप्त जानकारीअनुसार हमासको हमलामा नौजना नेपाली घाइते भएका छन्, जसमध्ये दुई गम्भीर छन् ।
घाइते नेपाली सुदूरपश्चिम विश्वविद्यालयबाट बिएस्सी एग्रिकल्चर अध्ययन गरेर इजरायलमा लर्न एन्ड अर्नअन्तर्गत ११ महिनाका लागि इन्टर्न गर्न गएका विद्यार्थी हुन् । सुदूरपश्चिम विश्वविद्यालयका ४९ जनाको समूह २७ भदौमा नेपालबाट इजरायल गएको थियो ।
इजरायलको अर्को सहरमा रहेका त्यही समूहका एक विद्यार्थीले भने, ‘किबुजको कृषि फार्ममा १७ जना साथी छन् । गाजापट्टीबाट शनिबार बिहानै आएर आतंककारीले हमला गरेका थिए । सबै साथीहरू बंकरमा बस्नुपर्नेमा दुईजना बाहिर रहेका वेला ग्रिनेडले लागेछ । उनीहरू घाइते भए । बाँकी सबै साथीलाई बंकरभित्रै ग्रिनेडको छर्रा लागेको छ ।’ उनले सबै घाइते भएको जानकारी दिए पनि परराष्ट्रले भने नौजना मात्रै घाइते भएको विज्ञप्तिमा जनाएको छ ।
ती विद्यार्थीले शनिबार राति दिएको सूचनाअनुसार घाइतेमध्ये पाँच नेपाली विद्यार्थीलाई उपचारका लागि अस्पताल लगिएको छ । बाँकीको अवस्थाबारे उनले अनभिज्ञता जनाए । १४ नेपाली काम गरिरहेकोे एउटा कृषि फार्ममा शनिबार बिहान ग्रिनेड प्रहार भएको थियो । ती विद्यार्थीले नाम नछाप्न आग्रह गर्दै दिएको सूचनाअनुसार दाङ, सल्यान, गोरखा, कैलाली, कञ्चनपुर, दार्चुलाका विद्यार्थी घाइते भएका छन् । उनीहरू सबै नेपाल र इजरायलबीच भएको सम्झौताअनुसार कृषि कार्यका लागि त्यहाँ गएका हुन् । १४ नेपालीमध्ये पश्चिम, मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रका रहेको जानकारी नेपाली राजदूतावासले परराष्ट्रलाई दिएको छ । परराष्ट्र मन्त्रालयले शनिबार साँझ जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘१४ जना नेपाली काम गरिरहेको फार्ममा पनि आक्रमण भएको जानकारी पाएका छौँ । नौजना नेपाली घाइते भएको र दुईजनाको अवस्था गम्भीर रहेको जानकारी छ । थप विवरण आउन बाँकी छ । ’
गैरआवासीय नेपाली संघका अनुसार इजरालयलमा करिब पाँच हजार नेपाली छन् । परराष्ट्र स्रोतका अनुसार किबुज भन्ने ठाउँको कृषि फार्ममा पनि नेपालीहरू छन्, जसलाई हमासले कब्जामा लिएको छ । घाइते भएका र अन्य नेपाली बंकरमा लुकेका छन् । परराष्ट्रका अनुसार इजरायलस्थित नेपाली दूतावासका अधिकारीहरू आक्रमण प्रभावित क्षेत्रमा बसोवास गर्ने नेपालीसँग निकट सम्पर्कमा छन् । घाइते भएका नेपालीको उपचार तथा त्यहाँ रहेका नेपालीको सुरक्षा र उद्धारका लागि पनि दूतावासले इजरायलका अधिकारीसँग सम्पर्क र समन्वय गरिरहेको छ ।
घटनाबारे शनिबार साँझ परराष्ट्रमन्त्री एनपी साउदले मन्त्रालयमा सम्बद्ध अधिकारीहरूको बैठक राखेर जानकारी लिएका छन् । परराष्ट्र मन्त्रालयले नेपालका लागि इजरायली राजदूत हनान गोदरसँग पनि त्यहाँ रहेका नेपालीका विषयमा चासो व्यक्त गरेको एक उच्च अधिकारीले जानकारी दिए । ‘हमासको कब्जामा नेपाली मात्र होइनन् । इजरायली सबै रहेको पूरै क्षेत्र नै हमासको कब्जामा छ । नेपालीलाई परिस्थिति सहज नहुन्जेल बंकरमा सुरक्षित भएर बस्न भनेका छौँ,’ परराष्ट्र मन्त्रालयका अधिकारीले बताए ।
सरकारले परिस्थितिलाई ध्यानमा राख्दै इजरायलमा रहेका नेपाली नागरिकलाई सतर्क रहन र सरकार तथा सम्बद्ध अधिकारीले निर्देशन दिएअनुसार सुरक्षा उपाय पालना गर्न अनुरोध गरेको छ ।