नेपाल प्रहरीका एक डिएसपीलाई ‘सनक’ चलेपछि एक व्यक्तिले अनाहकमा दुख पाएका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरमा कार्यरत डिएसपी बसन्त पाठकले आफ्नो कार्यक्षेत्र भन्दा बाहिर पेप्सीकोला आएर काठमाडौं चाबहिलका २३ वर्षिय मनिष उप्रेतीलाई उठाएर थुनेका छन् ।
सोमबार साँझ करिब ६ बजेतिर आफ्ना काका सुरेन्द्रसँग उनी काठमाडौंको पेप्सीकोला गएका थिए। पेप्सीकोलास्थित मटन स्टेशन नजिकै पुगेर काका सुरेन्द्रले डेरीमा सामान किन्न भनेर रोकिएका बेला गाडी गलत लेनमा रोकेर जाम गरेको भन्दै थुनेका हुन्। गलत दिशामा पार्किङ गरेको भए ट्राफिक बोलाएर चिट काटेर जरिवाना तिराउन सक्नेमा त्यसो नगरेकोमा डिएसपीको हुकुमी शासन लागु भएको छ।
मनिषका अनुसार ‘२ मिनेटभित्रै मलाई लगे। सिभिल ड्रेसमा आएको मान्छे, एक्कासी आएर मसँग त्यस्तो व्यवहार गर्नुभयो। कहिल्यै झगडामा नपरेको मान्छेलाई प्रहरीमाथि हातपात गर्यो भनियो,’ उनले भने, ‘चौकी लगेर मलाई हतकडी लगाइयो, मेडिकल गराइयो, रातभरी हिरासतमा सुत्न सकिनँ।’
पेप्सीकोला काठमाडौंभित्र पर्छ। भक्तपुर प्रहरीको क्षेत्राधिकारभित्र नपर्ने ठाउँबाट डिएसपीले एक्सन लिए। उनी मंगलबार बिहान ७ बजेतिर छाडिएको थियो। चौतर्फी दबाब आएपछि डिएसपीले अभद्र व्यवहारको मुद्धा चलाउने धम्की समेत दिएको स्रोतले बतायो ।
यता मनिषले भने आफूमाथि प्रहरी अधिकृतले दुर्व्यवहार गरेकाले राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिने तयारी गरिरहेका छन्।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ