बुधबार, फाल्गुन ९, २०८०
  • गृहपृष्‍ठ
  • प्रशासन
  • कार्यकक्षका बिषयमा पर्साका प्रमुख र उपप्रमुखबीच विवादः महानगरको काम प्रभावित

कार्यकक्षका बिषयमा पर्साका प्रमुख र उपप्रमुखबीच विवादः महानगरको काम प्रभावित


कान्तिपथ


पर्सा- जनप्रतिनिधिबीचको विवादका कारण वीरगन्ज महानगपालिकाको आज दोस्रो दिन पनि कामकाज प्रभावित भएको छ । वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईको कार्यकक्षका विषयमा नगर प्रमुख राजेशमान सिंह र उप–प्रमुख इम्तीयाज आलमबीच विवाद बढ्दै गएपछि कार्यालयको सेवा प्रवाह अवरुद्ध भएको हो ।

नगर प्रमुख र उप–प्रमुखबीचको विवादका कारण कार्यकक्षमा कर्मचारी नै नबसेपछि सेवा लिन आएका सेवाग्राही सेवा प्रवाहबाट वञ्चित भएका हुन् । नगर प्रमुख सिंह र उप–प्रमुख आलमका सर्मथकबीच हुन सक्ने भिडन्तको अवस्थालाई नियन्त्रण गर्न महानगरपालिका परिसरमा आज विहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख कोम शाहको नेतृत्वमा खेटिएका सुरक्षाकर्मीहरुले महानगरपालिकाको मुलगेटमा चेकजाँच कडा पारी सेवाग्रही, कर्मचारी, संचारकर्मी बाहेकका अन्य व्यक्तिलाई प्रवेशमा रोक लगाएका छन् ।

नगरप्रमुख र उपप्रमुखबीचको विवादका कारण सेवा प्रवाहमा देखिएको समस्याबारे महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भट्टराईसँग बुझ्दा उहाँले कार्यालयबा हुने कुनैपनि सेवालाई नरोकिएको बताउनुभयो ।

उहाँले कार्यालयमा देखिएको विवादका कारण सेवाग्रहीको उपस्थिती भने न्यून रहेको जानकारी दिनुभयो । उहाँले नगर प्रमुख र उपप्रमुखबीचको असमझदारीका कारण विवाद सिर्जना भएको र यो विवाद चाँडै समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

यसै विषयमा नगरप्रमुख राजेशमान सिंहसँग बुझदा उहाँले हाल देखिएको समस्यालाई चाँडै वार्ता र सम्वादका माध्यमले समाधान गर्ने जानकारी दिनुभयो । उहाँले केही दिनमै महानगरपालिकाको बोर्ड बस्दै छ र त्यसबाट हाल देखिएका सम्पुर्ण समस्याको निकास निस्किने बताउनुभयो ।

प्रमुख प्रसाकीय अधिकृतको कार्यकक्ष पहिले कै स्थानमा राख्दा सेवाग्रहीलाई सहज हुने भएकाले सोही स्थानमा कार्यकक्ष राख्नुपर्ने उपप्रमुख आलमले अडान दोहोर्‍याउँदै हाल देखा परेको समस्या समाधानक लागि आफु वार्ता र सम्वादको पक्षमा रहेको जानकारी दिनुभयो ।

नगर प्रमुखको पुरानो कार्यकक्षमा प्रमुख प्रशासकीय अधिकृत भट्टराई सरेपछि विवाद उत्पन्न हुँदा दुवै पक्षबीच हिजो झडप भएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत