बुधबार, फाल्गुन ९, २०८०

बरहथवामा निषेधाज्ञाको अवधि थपियो


कान्तिपथ


मलङ्गवा (सर्लाही) I शुक्रवार अपराह्नदेखि अशान्त रहेको सर्लाहीको बरहथवामा आज पनि निषेधाज्ञा (कफ्र्यू) आदेश जारी भएको छ । विरोध प्रदर्शनका क्रममा शुक्रवार ज्यान गुमाएका युवकको शव घटनास्थलबाट उठाउन आन्दोलनकारीले दिएका छैनन् । 

बरहथवाको प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिको माग गर्दै  भएको विरोध प्रदर्शनमा बरहथवा नगरपालिका–६ का ३० वर्षीय जयशङ्कर साहको मृत्यु भएको थियो । दोषीलाई कानुनी दायरामा ल्याउनु पर्ने, मृतकका नाममा ५० शय्याको प्रादेशिक अस्पताल बरहथवामा बनाउनुपर्ने, मृतकलाई सहिद घोषणा गर्नुपर्ने माग राखेर आन्दोलित पक्षले शव घटनास्थलबाट उठाउन दिएको छैन । 

सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले निजको मृत्युको कारण आफूलाई थाहा नभएको तथा आफूले सुरक्षाकर्मीलाई गोली प्रहार गर्ने आदेश नदिएको राससलाई बताउनुभयो । आन्दोलित पक्षले शवलाई घेरा हालेर बसेका कारण उठाउन नसकिएको उहाँले बताउनुभयो । घटना सम्बन्धमा छानबिन गर्न तथा शव उठाउने विषयमा सबै पक्षसँग संवाद जारी रहेको उहाँले बताउनुभयो । 

उक्त घटनालाई लिएर सदरमुकाम मलङ्गवा र कविलास नगरपालिकाको सलेमपुरमा पनि आज बिहानैदेखि टायर बालेर विरोध प्रदर्शन भइरहेका छ । 

शुक्रवार आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा दुवैतर्फ केही घाइते भएका थिए । झडपपछि स्थानीय प्रशासनले बरहथवा बजार क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो । शुक्रवार बेलुका ५ः३० देखि शनिवार बिहान ८ः०० बजेसम्म निषेधाज्ञा जारी गरेको थियो । बरहथवा क्षेत्रको अवस्था सामान्य नभएपछि स्थानीय प्रशासनले आज पनि बिहान ८ देखि भोलि बिहान ८ बजेसम्म निषेधाज्ञाको अवधि थप गरेको छ ।

बरहथवामा अहिले भारी मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रदर्शनकारीले बरहथवा नगरपालिका प्रमुख कल्पनाकुमारी कटुवालको निवास तथा नगरपालिकामा ढुङ्गामुढा गरेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हावामा गोली हान्नाका साथै र अश्रुग्याँस प्रहार गरेको थियो । नगरप्रमुख कटुवालको निवासअगाडि पार्किङ गरी राखिएको एउटा भारतीय नम्बरको कार र एउटा मोटरसाइकलमा आन्दोलनकारीले आगजनी गरेको थिए । 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत