सोमवार, माघ ७, २०८१

बालकुमारी घटना : डीएसपी र असईको निलम्बन फुकुवा


कान्तिपथ


काठमाडाैं । ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा बल प्रयोग गरेको आरोपमा निलम्बनमा परेका नेपाल प्रहरीका डीएसपी उमेश लम्साल र प्रहरी सहायक निरीक्षक बोधराज दनुवारको निलम्बन फुकुवा गरिएको छ ।

इपीएस भाषा परीक्षामा सहभागी हुन फारम भर्ने विषयमा प्रदर्शनको हुँदा दुई जनाको मृत्यु भएको थियो । प्रदर्शनमा प्रहरीको बल प्रयोगबाट अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतले ज्यान गुमाएका हुन् ।

घटनास्थलमा सुरक्षा कमाण्ड गरेका डीएसपी लम्साल र तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) लाई २०८० पुस १४ मा प्रहरी प्रधान कार्यालयले निलम्बन गरेको थियो ।

उनीहरू दुवैको निलम्बन फुकुवा गरिएको प्रहरी प्रधान कार्यालयका एकजना प्रहरीले कान्तिपथलाई बताए ।

घटनाबारे जाँचबुझ गर्न मन्त्रिपरिषद्ले पूर्वन्यायाधीश शेखर पौडेल नेतृत्वको आयोग गठन गरेको थियो ।

पुस १३ मा रोजगार अनुमति प्रणाली (इपीएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरूले प्रदर्शन गरिरहेको बेलामा प्रदर्शन स्थलमा तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला उपस्थित भएपछि भिड थप आक्रोशित बनेको आयोगको निष्कर्ष छ ।

प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास पनि प्रहार गरेको थियो । प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा.२ झ ५८६१ नम्बरको गाडी जलाएका थिए ।

यस्तै आगजनीमा संलग्न १० जनालाई प्रहरीले पक्राउ समेत गरेको थियो । घटनामा केही आन्दोलनकारी घाइते समेत भएको थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत