आइतवार, माघ ६, २०८१

महिलाको फेसबुक ह्याकगरी ब्ल्याकमेल गर्ने सन्दीप पक्राउ


कान्तिपथ


काठमाडौं। विदेशमा बसेर महिलाको फेसबुक ह्याकगरी साइबर अपराध गर्ने एक जनालाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा तनहुँ जिल्लाको घिरिङ गाउँपालिका–१ स्थायी घर भएका वर्ष ३५ का सन्दीप थापामगर रहेका छन्।

उनी साइबर अपराध गर्दाका समयमा वैदेशिक रोजगारीको सिलसिलामा रोमानियामा रहेको खुलेको ब्युरोका उपनिर्देशक, प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए।

थापाले पीडितको फेसबुक ह्याकगरी उनको म्यासेञ्जरमा पीडित र उनका श्रीमान्बीच भएका कुराकानी लगायत सामग्री संकलनपश्चात् नक्कली एकाउन्ट बनाइ ती म्यासेज पीडितका आफन्तका म्यासेन्जरमा पठाएर साइबर अपराध गरेका खुल्न आएको पनि उनले बताए।

सामाजिक सञ्जालबाट पीडितका आफन्तलाई त्यस्ता सन्देश पठाई ब्ल्याकमेलगरी मानसिक तनाव, दुःख हैरानी दिइ समाजमा पीडितको चरित्र हत्या हुने कार्य गरेको भन्दै ब्युरोमा परेको निवेदनका आधारमा प्राविधिक अनुसन्धान र विश्लेषण गर्दा पुष्टि भएपछि उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक अवस्थीले बताए।

उनीमाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्तागरी प्रहरी अनुसन्धानपश्चात् सजायको माग दाबीसहित जिल्ला अदालत काठमाडौंमा मिसिल पेस भएको थियो।

मुद्दा विचाराधीन रहेकै अवस्थामा वैदेशिक रोजगारीमा रहेका प्रतिवादी थापा स्वदेश फर्कने क्रममा आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरको सहकार्यमा ब्युरोको टोलीले पक्राउ गरेको थियाे।

उनलाई अदालती कारबाहीका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको ब्युरोले आज जारी गरेको सूचनामा उल्लेख छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत