काठमाडौं । मोरङको ग्रामथान गाउँपालिका–४ कटहरामा जुवा खालमा प्रहरीले शनिबार राति छापा हानेको छ ।
कटहराको बाँसघारीभित्र संचालित जुवा खालमा राति ८ बजेतिर छापा हानेर प्रहरीले गाउँपालिकाका पूर्वअध्यक्षसहित ९ जनालाई पक्राउ गरेको हाे ।
पक्राउ परेकाको साथबाट प्रहरीले साढे १८ लाख रूपैयाँभन्दा बढी नगद बरामद भएको छ ।
पक्राउ पर्नेमा ग्रामथान गाउँपालिकाका पूर्वअध्यक्ष ग्रामथान–४ का ५९ वर्षीय शिवनारायण माझी, महोत्तरीको गौशाला नगरपालिका–१ का ४५ वर्षीय महेश साह, सुनसरीको धरान उपमहानगरपालिका–१५ का ४५ वर्षीय युवक राई, दुहबी नगरपालिका–६ का ४५ वर्षीय जयकिशोर साह, झापाको दमक नगरपालिका–१० का ४६ वर्षीय ऋतुवर्ण नेम्वाङ, मोरङको सुन्दरहरैँचा नगरपालिका–१ का ५० वर्षीय जनककुमार मास्के, ३२ वर्षीय प्रताप राई, ग्रामथान–४ का ५५ वर्षीय अहिलाल माझी र लेटाङ नगरपालिका–९ का ३८ वर्षीय लोकनाथ सापकोटा रहेका छन् ।
पक्राउ पर्नेमध्ये शिवनारायण २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट ग्रामथान गाउँपालिकाको अध्यक्ष निर्वाचित भएका थिए । पक्राउ पर्ने अन्य व्यक्ति पनि प्रतिष्ठित र धनाड्यहरु रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय हरैँचा तथा बेलबारी, जिल्ला प्रहरी कार्यालय मोरङ र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको संयुक्त टोलीले जुवा खालमा छापा हानेको थियो ।
लामो समयदेखि जुवा खाल चलिरहेको विशेष सूचनाका आधारमा नियन्त्रणमा लिन कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङ र मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले संयुक्त रूपमा टोली परिचालन गरेका थिए । एसपी कार्कीका अनुसार पक्राउ परेकाको साथबाट र जुवा खालबाट १८ लाख ५१ हजार ५ सय रूपैयाँ नगद, १६ थान कौडा, १२ बुक तास, पाडर, पैसा राख्न प्रयोग गरिने काठको बाकस, झोला, १५ वटा मोबाइललगायत बरामद भएको छ । जुवा खालबाट १७ लाख २९ हजार ५ सय र पक्राउ परेकाको साथबाट १ लाख २२ हजार रूपैयाँ बरामद भएको जानकारी उनले दिए ।
पक्राउ परेकाहरुमाथि इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले थप अनुसन्धान अघि बढाएको छ । उनीहरुमाथि मुलुकी अपराध संहिता, २०७४ अनुसार कानुनी कारबाही अघि बढाउने प्रहरीको तयारी छ । साथै, जिल्ला प्रशासन कार्यालय मोरङबाट दिन ५ (पाँच) म्याद थप भई इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भई रहेको ।
छापा हान्ने क्रममा केही व्यक्ति फरार भएको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ