काठमाडौं । उदयपुर र भोजपुरको सीमा क्षेत्रमा बाढीले पुर्याएको क्षतिबारे बुझ्न गएकी कोशी प्रदेशकी राज्यमन्त्री सिर्जना राईलाई गएराति आक्रमण गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ ।
विराटनगरबाट गएको प्रहरीको विशेष टोलीले उनीहरूलाई उदयपुरबाट पक्राउ गरेको हो ।
घटनामा नाबालकहरुसमेतको संलग्नता रहेको र पक्राउ परेकोले अनुसन्धानपछि मात्र प्रहरीले उनीहरूको नाम सार्वजनिक गरेकाे छैन ।
राज्यमन्त्री राई बाढी पहिरो पछिको अवस्था अवलोकन गर्नुका साथै राहत तथा उद्धारको पहल गर्न उदयपुरको उत्तरी क्षेत्र र भोजपुरको दक्षिण क्षेत्रमा गएकी थिइन् ।
विराटनगर फर्कने क्रममा मंगलबार राति १० बजे उनी चढेको सवारीसाधनमा आक्रमण भएको थियो ।
पक्राउ पर्नेमा ६ जना रहेको कोशी प्रदेशका प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङका अनुसार उनी फर्केर आएको बाटोबाट गाँजा तस्करी हुने गरेको र त्यस ठाउँमा उक्त समूहले गाँजा ओसारपसार गर्नेहरूसँग पैसा असुल्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको कान्तिपथलाई बताएको छ ।
मंगलबार राति पनि उक्त समूहले गाँजा ओसारपसार गर्ने समूह सम्झेर मन्त्री सवार गाडीमा आक्रमण गरेको हुनसक्ने प्रहरीले जनाएको छ ।
उनीहरुले त्यहाँ लुटपाट गर्ने उद्देश्यले आक्रमण गरेको खुलेको प्रहरी प्रमुख खापुङले बताए ।
उनी चढ्ने प्रदेश १–०४–००१ झ ००३२ नम्बरको गाडीमा क्षति पुगेकोले मर्मतका लागि लगिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
आक्रमणकारी समूहले खुकुरी, भाटा र ढुंगा बोकेर गाडी रोक्न खोजेका थिए भने सडकमा मुढासमेत तेर्स्याएका थिए ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ