काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा मंगलबार आयोजित समारोह बीच सोही प्रतिष्ठानमा संचालित प्रहरी अधिकृत (प्राविधिक) आधारभूत तालिम ३२औं समूहको दीक्षान्त समारोह सम्पन्न भएको छ ।
समारोहमा प्रहरी महानिरीक्षक कुँवरले तालिममा सर्वप्रथम प्रशिक्षार्थी प्राविधिक प्रहरी निरीक्षक डा. अरूण जोशी, सर्वद्वितीय प्रशिक्षार्थी प्राविधिक प्रहरी निरीक्षक डा. संजिब खड्का, सर्वतृतीय प्रशिक्षार्थी प्राविधिक प्रहरी निरीक्षक डा. बिनिता बस्नेत, अध्ययन प्रथम प्रशिक्षार्थी प्राविधिक प्रहरी निरीक्षक डा. मृगेन्द्र कुमार सिंह यादव, कवाज एवम् शारीरिक व्यायाम प्रथम प्रशिक्षार्थी प्राविधिक प्रहरी निरीक्षक डा. विजय सुनार, चाँदमारी प्रथम प्रशिक्षार्थी प्राविधिक प्रहरी निरीक्षक डा. विशाल थापा र प्रहरी कारबाही तथा युक्ति प्रथम प्रशिक्षार्थी प्राविधिक प्रहरी नायव निरीक्षक आर्किटेक्ट बरूण सहनीलाई पुरस्कार एवम् प्रमाणपत्र प्रदान गरेकाे हाे ।
साथै उनले तालिम सम्बन्धी गतिबिधि समेटिएको पुस्तक ‘संकल्प’ को विमोचन समेत गरे ।
समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले समाजमा शान्ति सुरक्षा अमन चयन कायम गर्ने तथा अपराध रोकथाम एवम् अनुसन्धान गर्न नेपाल प्रहरी राज्यको एक मात्र निकायको रूपमा रहेको चर्चा गर्दै विपद् व्यवस्थापन लगायत अन्य संवेदनशील र जटिलपूर्ण अवस्थामा समेत अग्रपंक्तिमा रहेर आम नागरिकमा सेवा प्रवाह गर्ने महत्वपूर्ण सुरक्षा निकायमा आवद्ध भई निर्दिशष्ट जिम्मेवारी वहन गर्न पाउनु आफैमा गौरवको विषय भएको उल्लेख गरे ।
प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीको संस्थागत विकास, सुदृढिकरण र सेवा प्रवाहामा जनपद सेवा समूह जतिनै प्राविधिक समूहको पनि ठूलो योगदान रहेको तथा सपोर्ट युनिटहरूको योगदानले नै अपराध अनुसन्धान तथा नियन्त्रण, शान्ति सुरक्षा अमन चयन कायम गर्ने, ट्राफिक व्यवस्थापन, विपद् व्यवस्थापन लगायत विभिन्न सेवा प्रवाहमा अतुलनिय सहयोग पुगेको बताए ।
प्रहरी सेवा अन्य सेवा भन्दा ज्यादै पृथिक र विशिष्ट रहेको चर्चा गर्दै उनले यस सेवामा सदैव व्यावसायिक, निष्ठा, इमानदारिता अथक प्रयास, साहस र समर्पण भावको आवश्यकता रहने र यीनै गुणहरूले नै जस्तो सुकै कठिन परिस्थितिमा पनि आफूलाई समर्पित हुन हौसला प्रदान गर्ने जानकारी दिए ।
प्रहरी महानिरीक्षक कुँवरले प्रशिक्षणको समापन सँगै राष्ट्र र नागरिकको सेवामा प्रतिवद्ध भएर लागिपर्ने नयाँ यात्राको शुरूवात भएको उल्लेख गर्दै तालिमको दौरान प्राप्त भएको आन्तरिक र बाह्य प्रशिक्षणले प्रशिक्षार्थीहरूलाई सबल र सक्षम जनशक्तिको रूपमा परिणत गराउँदै आगामी दिनमा कार्यक्षेत्रमा देखापर्ने नविनतम् चुनौतिहरूको पहिचान र निस्तेज गर्नमा समेत सहयोग शिद्ध हुने अपेक्षा लिएको सुनाए ।
तालिमबाट आर्जन गरेको ज्ञान, सीप र कौशललाई सम्पूर्ण अधिकृतहरूले आगामी दिनमा उर्जाशिल भई रचनात्मक ढंगले राष्ट्र र नागरिकको सेवामा समर्पित भई उत्कृष्ट कार्यसम्पादन गर्न समेत उनले निर्देशन दिए ।
उक्त समारोहमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो । साथै उनले शब्दोच्चारणद्वारा प्रशिक्षार्थीहरूलाई सपथ ग्रहण समेत गराउनु भएको थियो ।
कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक फणिन्द्र प्रसाइले स्वागत मन्तव्य तथा तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै गत जेठ २९ गतेबाट संचालित ९५ दिन कार्यावधिको उक्त तालिममा प्राविधिक प्रहरी निरीक्षक २७ जना, प्राविधिक प्रहरी नायव निरीक्षक ११ जना र प्राविधिक प्रहरी सहायक निरीक्षक १ जना गरी कुल ३९ जना प्रशिक्षार्थीहरूले सफतलापूर्वक तालिम सम्पन्न गरेको जानकारी दिए ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरूको साथै प्रशिक्षार्थीहरूका अभिभावकहरू तथा अन्य आमन्त्रित महानुभावहरूको उपस्थिति रहेको थियो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ