बिहिबार, मंसिर २०, २०८१

जलजन्य विपद्ःपूर्वसूचना प्रणालीले समुदाय जोगायो


कान्तिपथ


कैलाली । हरेक वर्ष बाढीको पीडा भोगिरहेका कैलालीका सर्वसाधारण विगतका तुलनामा पछिल्ला वर्षमा पूर्वतयारीमा सचेत भएका छन् । कैलालीका तटीय क्षेत्रका बासिन्दा बाढीको पूर्वानुमानमा आधारित सूचनाअनुसार पूर्वतयारीमा जुट्ने गरेका छन् । पूर्वतयारीकै कारण कैलालीमा बाढीका कारण हुने क्षति कम गर्न सहयोग मिलिरहेको संरक्षणकर्मी बताउँछन् ।

हरेक वर्षको बाढीले आजित भजनीका बासिन्दाले सचेत भई गरेको पूर्वतयारीले जनधनको क्षति जोगाएको छ । यो वर्ष भजनी चार पटक बाढीको चपेटमा प¥यो, सबै वडा डुबानमा परे तर पूर्वतयारीका कारण ठूलो क्षति भएन ।

गत भदौ ६ गतेको बाढीले भजनीका सबै वडा डुबानमा परे । बाढीले चार हजार बढी परिवार प्रभावित भए । पूर्वतयारीमा सचेत भएकाले घर डुबानमा परे पनि अधिकांशले आफ्ना सरसामान, अन्नपात सबै वस्तु सुरक्षित स्थानमा सार्न सफलता मिलेको भजनी–८ सोनाहाफाटाका संरक्षणकर्मी जयप्रसाद ढुङ्गाना बताउछन् । “विगतमा बाढी आउँदा पूर्वसूचना प्रणाली नभएकाले मानिसको ज्यानसमेत गएको थियो”, उनि भन्छन् “यहाँका हरेक मानिसलाई पूर्वानुमानमा आधारित सूचनाको ज्ञान छ । वर्षा हुन थालेपछि पूर्वतयारीमा बस्छन्, त्यसैले क्षति कम हुने गरेको छ ।”

संरक्षणकर्मी ढुङ्गानाका अनुसार ठूलो बाढी आए पनि घर खेतमा मात्र क्षति हुने गरेको छ । “पूर्वसूचना प्रणालीले मानिसलाई सचेत बनाउँदा उच्च स्थानमा घर बनाउने, अति आवश्यक सरसामानको सुरक्षा गर्ने परम्परा बसेको छ”, उन भन्छन्, “मानिस सचेत नभए पालिकाले मात्र के गर्न सक्छ र रु यहाँका सर्वसाधारण बाढीका समयमा सडकमै महिनौँ बिताउने गरेका छन् । त्यहाँ पनि कसरी बस्ने भन्नेबारे सचेत छन् ।”

भजनीका निर्मला कार्की पनि पूर्वतयारीबारे जानकारी भएकाले सुरक्षित रहन सम्भव भएको बताउछन् । “बाढीसम्बन्धी मोबाइलमा आउने म्यासेज, स्थानीय पालिकाको फेसबुक पेज हेर्ने, रेडियो सुन्ने गरेका छौँ”, उनि भन्छन्, “सूचनामा समुदायले विश्वास गर्छ । विगतमा विश्वास नगर्दा केही वर्षअघि बाढीमा तीनजनाको ज्यान गएको भुलेका छैनौँ । बाढीको जोखिमबारे ज्ञात हुनेबित्तिकै हामी हुलाकी सडकमा गइहाल्छौँ ।”

भजनीकै पदम चौधरी पनि पूर्वानुमानमा आधारित सूचना नियमित हेर्ने गर्छन् । उनलाई पनि सूचनाले ठूलो मद्दत गरेको छ । “ हरेक वर्ष बाढीले बाली नोक्सान गरेको छ”, उनि भन्छन्, “पूर्वसूचनाका कारण हामी भने सुरक्षित छौँ । आफूसँग भएका अत्यावश्यक सरसामान, खाद्यान्न जोगाउने गरेका छौँ ।”

टीकापुर–८ वनगाउँका पूर्वसूचना समितिका संयोजक रामकृष्ण चौधरी पूर्वसूचना नभएमा धनजनको क्षति हुने भएकाले तटीय क्षेत्रमा पूर्वसूचनाको महत्व बढिरहेको बताउछन् । “खासगरी तटीय क्षेत्रका बासिन्दालाई पूर्वसूचना अत्यावश्यक छ”, उनि भन्छन्, “विपद्को क्षति कम गर्ने सजिलो उपाय पूर्वसूचना नै हो ।”

टीकापुर–८ कै मङ्गली थारूको विगतमा पूर्वसूचना नपाएर धेरै क्षति बेहोरेको अनुभव भए पनि अहिले पूर्वानुमानमा आधारित पूर्वसूचनाले धेरै सहज भएको बताउछन् । “मौसम पूर्वानुमानसम्बन्धी तीनदिने र सातदिने सूचनाले समुदायलाई सुरक्षित रहन धेरै सहयोग मिलेको छ”, उनि भन्छन्, “यसवर्ष पनि केही वडामा बाढी पस्यो, हामीले पूर्वसूचना पाएका कारण खाद्यान्न सुरक्षित गर्न भ्यायौँ । समयमै सूचना नपाएको भए यो सम्भव थिएन ।”

टीकापुर–७ का वडाध्यक्ष यज्ञप्रसाद न्यौपाने मोहना, पथरैया र कर्णाली नदीका विभिन्न क्षेत्रमा राखिएका जलसतह मापन केन्द्र राखिएका भए पनि सूचना कम हुने गुनासो बढेकाले त्यसलाई सम्बोधन गर्नुुपर्ने बताउछन् । “समुदायमा रहेका मापन केन्द्रमा विगतमा सङ्घसंस्थाले सूचना दिने मानिसको खर्च बेहोरेका थिए । अहिले सङ्घसंस्थाको सहयोग नहुँदा स्थानीयस्तरमा सूचना दिने मानिस छैनन्”, वडाध्यक्ष न्यौपाने भन्छन् ।
पूर्वसूचनामा लगानी गरेमा पछि खोज तथा प्रतिकार्यमा खर्च नपर्ने भएकाले सूचना प्रवाहलाई बढी जोड विपद् प्रतिकार्यमा बढी लगानी गर्नुभन्दा पूर्वसूचनामा काम गर्नुपर्छ भनिरहेका छौँ”, टीकापुर–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्ला बताउछन् । उनि भन्छन्, “अहिले समुदाय निकै सचेत भएको छ । समुदायका हरेकले मौसमसम्बन्धी सूचनामा ध्यान दिने गरेका छन् ।”

गत असार २३ गते टीकापुर नगरपालिकामा समेत बाढीले वडा नं ६ र ७ मा डुबान भएको थियो । समुदाय पूर्वतयारीमा सचेत भएकाले स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्रलाई खबर गरे । पालिका, प्रहरी र स्थानीय मिलेर खाद्यान्न, लुगाकपडा र वस्तुभाउ पनि सुरक्षित स्थानमा ल्यायौँ”, नगरपालिकाका विपद् व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरीले भने, “करिब तीन दिनसम्म बस्तीमा फर्कने अवस्था थिएन, पूर्वतयारीमा लगानी बढाएका र समुदाय सचेत भएकै कारण यो सम्भव भएको हो ।”

भजनी नगरपालिकाका विपद् व्यवस्थापन शाखा प्रमुख विष्णु न्यौपाने पालिकामा एकै वर्ष चारपटक बाढी आइसकेकाले पालिकाले हजारौँ परिवारलाई राहत दिन नसक्ने भएकाले पूर्वतयारीमा बढी लगानी गरिरहेका बताउछन् । “विस्थापितलाई केही छाक खाना, पानीसम्म पालिकाले गर्न सक्छ, सबै वडा जलमग्न हुने भएकाले समस्या छ”, उनले भने, “हामीले राहत, उद्धारमा लगानी गर्न नसक्ने भएकाले पूर्वतयारीमा समुदाय सचेत बनाउने काम गरेका छौँ । समुदाय सचेत भएकाले केही सहज भएको छ ।”

जल तथा मौसम विज्ञान विभाग, महाकाली ‘बेसिन फिल्ड’ कार्यालय अत्तरियाका कार्यालय प्रमुख सञ्जय शाह जलमापन र वर्षामापन केन्द्रलाई स्वचालित बनाउने काम भइरहेको बताउछन् । “अहिले राम्रो भइसकेको अवस्था छ । सुदूरपश्चिममा रहेका ३१ वटा जलमापन केन्द्र पहिला ‘म्यानुअल’ मात्र रहेकामा हाल अटोमेटिक बनाइएका छन्”, शाह भन्छन्, “त्यहाँ सतर्कता तह र जोखिम तहको ‘लेभल सेटअप’ गरिएको छ ।”
कार्यालय प्रमुख शाहका अनुसार मोहना र खुटिया नदीमा ११ वटा वर्षामापन केन्द्र र १० वटा जलमापन यन्त्र जडान भएका छन् । हाल ती सञ्चालनमा छैनन् । सञ्चालन भएपछि सुदूरपश्चिममा ४२ वटा जलमापन र वर्षा मापन ८९ हुनेछन् । चालीस बढी वर्षा मापन केन्द्र स्वचालित छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत