बिहिबार, मंसिर २७, २०८१

नेपाल प्रहरीले यसरी गर्‍यो कुकुर पूजा (फाेटाेसहित)


कान्तिपथ


काठमाडौँ । यमपञ्चकको दोस्रो दिन अर्थात कुकुर तिहारका अवसरमा नेपाल प्रहरी केनाईन कार्यालय महाराजगंजमा बिहीबार आयोजित कार्यक्रमबीच कुकुर पूजा सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाल प्रहरी केनाईन कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक डा. देउती गुरूङले प्रहरी कुकुरको प्रतिमामा माल्यार्पण गर्नुका साथै कार्यालयमा रहेका विभिन्न जातका कुकुरहरूलाई पूजा गरेकी थिइन् ।

उनले अपराध अनुसन्धान तथा खोज कार्यमा यस वर्ष उत्कृष्ट कार्य गर्ने तथा रनिङ प्रतियोगितातर्फ उत्कृष्ट हुने कुकुर ‘टाइगर’, बाधापारतर्फ उत्कृष्ट हुने ‘रोय’ र हाईजम्प प्रदर्शनमा उत्कृष्ट हुने कुकुर ‘रोज’ लाई पुरस्कार प्रदान गरेकी थिइन् ।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षक गुरूङले नेपाल प्रहरीको केनाईन सेवाको शुरूवात, विकास तथा विस्तारमा योगदान पुर्‍याउनुहुने अवकास प्राप्त प्रहरी उपरीक्षक प्रताप कुमार वान्तवा र अवकास प्राप्त प्रहरी नायव उपरीक्षक स्व. दण्डपाणी भट्टराईको सुपुत्र अमित भट्टराईलाई सम्मानपत्र प्रदान गरे ।

साथै यस वर्ष उत्कृष्ट कार्य गर्ने सोही कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूलाई समेत पुरस्कार प्रदान गरेका थिए ।

कार्यक्रममा उक्त कार्यालयका प्रहरी कर्मचारीहरू र प्रहरी कुकुरहरुले हातहतियार तथा विष्फोटक पदार्थको खोजी तथा पहिचान, लागूऔषधको खोजी तथा पहिचान, अपराधीको खोजी एवं पहिचान, हाइजम्प प्रतियोगिता, दौड प्रतियोगिता, आज्ञापालन तथा व्यक्तिगत सुरक्षा कला, बाधापार र खोजी तथा उद्दार कार्य लगायतको प्रदर्शनी गरेका थिए ।

कार्यक्रमा अवकास प्राप्त प्रहरी उपरीक्षक प्रताप कुमार वान्तवाले सेवामा रहँदा भएगरेका अनुभव व्यक्त गर्नुहुँदै अपराध अनुसन्धान तथा नियन्त्रणका लागि समयानुकुल तालिम दिन सकेमा थप प्रभावकारी हुने बताए ।

प्रहरी उपरीक्षक डा. राम चन्द्र सत्यालले धन्यवाद ज्ञापन गरेको उक्त कार्यक्रममा प्रहरी नायव उपरीक्षक डा. चेत नारायण ज्ञवालीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

नेपाल प्रहरीको अनुसन्धान प्रक्रियालाई तथ्यपरक र प्रमाणमुखी बनाउने उद्देश्यकासाथ विगत लामो समयदेखि अपराध अनुसन्धान तथा खोज कार्यमा तालिम प्राप्त कुकुरहरुको प्रयोग हुँदै आएको छ ।

कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतहरु, संचारकर्मी लगायत अतिथिहरू समेतको उपस्थिति रहेको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत