प्रेम अन्धाे हुन्छ त्यतिकै भनिदैन । प्रेमकै कारण काठमाडाैमा बाबा आमाले गाेली खानुपरेकाे छ भने उता बाराको सिमरा विमानस्थलमा कार्यरत प्रहरीका कार्यालय सहयोगी (भान्से) राजकुमार रुम्बाले ज्यान गुमाउन पुगेका छन् । हत्या एक युवतीका दुई प्रेमीबीच प्रतिस्पर्धाका कारण भएको खुलेको छ।
प्रहरीका अनुसार युवतीका कारण रिसइबी र लुटपाट हत्याको प्रमुख कारण भएको खुलेको हाे।
सिमरा उपमहानगरपालिका– ११ स्थित सडक छेउमा रोकिराखेको कारभित्र गत ६ पुसमा रुम्बाको शव फेला परेको थियो।
शव फेला परेको बागमती प्रदेश ०१–०२८–च–७६१६ नम्बरको कार राष्ट्रिय अनुसन्धान विभाग (राअवि)का निर्देशक (इन्स्पेक्टर) श्रीकान्त तिवारीको हो।
पोस्टमार्टम गर्दा रुम्बाको टाउकोमा गोली फेला पर्यो। अनुशन्धानका क्रममा घटनामा संलग्न भएको आरोपमा तिवारीसहित जीतपुर सिमरा उपमहानगरपालिका– १ का पुरुषोत्तमकुमार दास र सोही ठाउँका इन्द्रजितकुमार चौहान पक्राउ परेका हुन्।
दासको पाइन्टको खल्तीबाट प्रहरीले रुम्बाको सुनको सिक्री र पर्स फेला पार्यो। त्यसपछि सोधपुछका क्रममा भने हत्याको कारण प्रेम सम्वन्ध भएको पुष्टि भएको हो।
प्रहरीको अनुसन्धानमा दास र रुम्बाले एउटै युवतीलाई मन पराएको र ती युवतीलाई पाउने प्रतिस्पर्धामा रुम्बाको हत्या भएको देखिएको छ।
दासले रुम्बालाई ती युवतीको पछाडि नलाग्न र नभेट्न पटक–पटक चेतावनी दिँदै आएको खुलेको छ। तर, त्यो चेतावनीलाई रुम्बाले गम्भिर रुपमा लिएनन्। पटक–पटकको चेतावनी रुम्बाले नटेरेपछि दासले पेस्तोलको जुगाड गरेर उनको हत्या गर्ने योजना बनाएको खुलेको छ।
प्रहरीका अनुसार गाडी भित्रै गोली हानेको देखिएको छ।
त्यसपछि रुम्बाले घाँटीमा लगाएको सिक्री र पर्स लिएर उनीहरु बाटो लागे। सडक छेउमा कार निकै वेर रोकेको देखेपछि स्थानीयले चेक गर्दा भित्र रुम्बा मृत अवस्थामा फेला परेका थिए। स्थानीयले खबर गरेपछि इलाका प्रहरी कार्यालय सिमराको टोली पुगेर अनुशन्धान सुरु गरेको थियो।
अनुसन्धान गर्दै जाँदा रुम्बा प्रहरीको कार्यालय सहयोगी भएको र सिमरा विमानस्थलमा कार्यरत रहेको तथ्य फेला पर्याे। गाडी पनि विमानस्थलमै एक वर्षदेखि कार्यरत अनुशन्धान विभागका निर्देशक तिवारीको भएको खुल्यो।
अर्कोतर्फ प्रहरीले रुम्बाको कल डिटेल हेर्दा एक युवतीसँग लगातार फोन सम्पर्क भएको देखियो। तिनै युवतीले रुम्बा र दास दुवैले आफुलाई मन पराउने गरेको रहस्य वाहिर ल्याईन। ती युवतीकै सूचनामार्फत प्रहरीले दास र चौहानलाई पक्राउ गरेको हो।
इन्स्पेक्टर तिवारीको प्रत्यक्ष संलग्नता नभएपनि उनकै कारमा रुम्बाको शव फेला परेको र परिवारले उनको नामसमेत जोडेर किटानी जाहेरी दिएकाले पक्राउ गरिएको बारा प्रहरीका एसपी महेन्द्रकुमार खड्काले बताए।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ