बुधबार, चैत्र २५, २०८२

विमानमा आगलागी, १७६ जना यात्रुको सकुशल उद्धार


गणेश विक


सिओल । दक्षिण कोरियाको विमानस्थलमा मंगलबार राति उडान गर्नुअघि यात्रु विमानमा आगलागी भएको तर जहाजमा रहेका सबै १७६ जनालाई सुरक्षित रूपमा बाहिर निकालिएको अधिकारीहरूले बताएका छन् ।

दक्षिण कोरियाली एयरलाइन्स एयर बुसानद्वारा सञ्चालित एयरबस विमान हङकङका लागि प्रस्थान गर्ने तयारी गरिरहेको बेला दक्षिणपूर्वको गिम्हे अन्तर्राष्ट्रिय विमानस्थलमा यसको पछाडिका भागहरूमा आगलागी भएको यातायात मन्त्रालयले विज्ञप्तिमा जनाएको छ ।

विमानका १६९ यात्रु, छ जना चालकदलका सदस्य र एक जना इन्जिनियरलाई एस्केप स्लाइड प्रयोग गरेर बाहिर निकालिएको मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय अग्नि नियन्त्रण निकायले जारी गरेको विज्ञप्तिमा उद्धारका क्रममा तीन जना सामान्य घाइते भएको जनाएको छ ।

अग्नि नियन्त्रण निकायले घटनास्थलमा दमकल र दमकलकर्मीहरू परिचालन गरेको एक घन्टापछि स्थानीय समयानुसार राति ११ः३१ बजे आगो पूर्णरूपमा नियन्त्रणमा लिइएको बतायो ।

आगलागीको कारण तत्काल थाहा हुन सकेको छैन । यातायात मन्त्रालयले उक्त विमान ए३२१ मोडेलको रहेको बताएको छ ।

मङ्गलबारको घटना दक्षिणी दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा जेजु एयरको यात्रु विमान दुर्घटना भएको एक महिना पछि आएको हो ।

जेजु एयरको विमान दुर्घटनामा विमानमा सवार १८१ जना मध्ये दुई जना बाहेक सबै मारिएका थिए । यो दक्षिण कोरियाको उड्डयन इतिहासमा सबैभन्दा घातक दुर्घटनामध्ये एक थियो ।

बोइङ ७३७–८०० विमान डिसेम्बर २९ मा ल्यान्डिङ गियर खुल्न नसकेपछि विमानस्थलको धावनमार्गबाट चिप्लिएर कङ्क्रिटको संरचनामा ठोक्किएर आगोको लपेटामा परेको थियो ।

उक्त उडान बैंककबाट फर्किएको थियो र दुई थाई नागरिक बाहेक सबै पीडित दक्षिण कोरियाली थिए।

सोमबार जारी गरिएको दुर्घटनाको पहिलो प्रतिवेदनमा अधिकारीहरूले विमानको इन्जिनमा चराहरू ठोक्किएको प्रमाण फेला पारेको पुष्टि गरेका छन् । यद्यपि अधिकारीहरूले दुर्घटनाको कारण निर्धारण गरिसकेका छैनन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत