विश्व प्रेस स्वतन्त्रता दिवस २०८२ को अवसरमा सम्पूर्ण सञ्चारकर्मी, सम्पादक, रिपोर्टर, मिडिया अभियन्ता, अनुसन्धानकर्मी, र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा अडिग नागरिक समाजका सबै सदस्यप्रति सम्मान र कृतज्ञता प्रकट गर्दछ।
यो दिवस केवल सम्झनाको औपचारिकता होइन, यो सन्देश दिने दिन हो कि स्वतन्त्र प्रेस लोकतन्त्रको मेरुदण्ड हो। प्रेस स्वतन्त्रता सुरक्षित नरहँदा जनताको आवाज दबिन्छ, सत्ताको दमन मौलाउँछ, र समाजको चेतना खुम्चिन्छ।
नेपालको राजनीतिक इतिहास हेर्दा स्पष्ट हुन्छ। सञ्चारकर्मीहरूले निरंकुशताको विरुद्धमा कलमलाई अस्त्र बनाए। राजतन्त्र, पञ्चायती व्यवस्था, र विविध संक्रमणकालीन घडीहरूमा पत्रकारहरूले निडरताका साथ जनताको आवाज उठाए। आजको दिन, हामी ती सम्पूर्ण वीर पत्रकारप्रति श्रद्धाञ्जली अर्पण गर्दछौं, जसले अभिव्यक्तिको अधिकारका लागि जीवन आहुती दिए।
तर आज पनि स्थिति सहज छैन। संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रता व्यवहारमा अनेकौं बाधा, अवरोध र दबाबबीच सीमित देखिन्छ। राजनीतिक हस्तक्षेप, आर्थिक नियन्त्रण, सामाजिक बहिष्कार, तथा सामाजिक संजालकाे माध्यममा हुने चरित्र हत्या र अपमानका घटनाहरूले सञ्चारकर्मीहरूको मनोबल कमजोर बनाइरहेका छन्। कतिपय अवस्थामा त प्रेस आफैँभित्र पनि स्वनियन्त्रणको अभ्यास कमजोर देखिन्छ, जसले प्रेसको नैतिकता र विश्वसनीयता दुवैलाई असर पार्दछ।
यस्तो अवस्थामा कान्तिपथ डटकम सम्पादकीय रूपमा स्पष्ट धारणा प्रकट गर्न चाहन्छ। स्वतन्त्रता र जवाफदेहिता दुबै एकसाथ अघि बढ्नुपर्छ। स्वतन्त्र पत्रकारिता भनेको मनपरी गर्ने छुट होइन, यो त जनताको पक्षमा सत्य, तथ्य र निष्पक्षता बोकेको आवाज हो।
यस विशेष दिनमा, हामी सबैले स्वतन्त्र, उत्तरदायी र विवेकशील पत्रकारिताका लागि प्रतिबद्धता जनाउनु पर्ने बेला आएको छ। हामी प्रेस स्वतन्त्रताको केवल उपभोगकर्ता होइनौं, हामी त्यसका संरक्षक पनि हौं।
कान्तिपथ डटकम सम्पूर्ण पत्रकार मित्रहरूलाई अभिव्यक्ति स्वतन्त्रताका पक्षमा दृढ रहन, सत्यका पक्षमा कलम चलाउन, र जनताको पक्षमा निडर आवाज बनिरहन प्रेरणा दिन्छ। हामीले सुशासन, पारदर्शिता र उत्तरदायित्वको संस्कार स्थापना गर्न कलमको बल प्रयोग गर्नैपर्छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ