प्रिय भाई गणेश बिक तिमीलाई यो पत्र लेख्ने मनस्थिति आज अचानक बन्यो । मसँग शब्दहरू धेरै छन्। तर ती सबै तिमीले जति सहेर लेखेका छाै , त्याे मलाई थाहा छ । दुःख, संघर्ष र नछोडिने प्रतिबद्धताको अक्षरमा खप्तडटिभीमा पत्रकारिता गर्दा तिमीले भोगेका हिरासतका रातहरू त्यो अन्यायका पर्खालभित्र तिमीले धैर्यपूर्वक काटेका रातहरू यी सबै सम्झँदा हिजोका दिनहरूको कठोर सत्य आँखा अगाडि आउँछ ।
गणेश, पत्रकारिता केवल समाचार लेख्ने पेशा होइन यो एउटा आदर्शको जीवनशैली हो, जहाँ सत्यसँग सम्झौता गर्न पाइँदैन ।
तिमीले यो बाटो सजिलै रोजेका होइनौ तिमी त खतराको बाटो हिड्ने दुस्साहस देखाउने बिरलामध्ये एक हौं । प्रहरी हिरासतका तिनै पलहरू तिमीलाई कमजोर बनाउन होइन अझ बलियो बनाउने पाठशाला बने ।
आज ( २०८२ असार ४ गते बुधबार ) तिमीले मलाई लेखेर पठाएको त्यो एक सानो सन्देशले मलाई लाग्यो कि अब तिमी परिपक्व भै सकेका छौँ । त्यो केवल शब्द होइन यो त तिमीभित्र पलाइरहेको सचेत पत्रकारको आत्मघोषणा हो ।
तर म एकचोटि स्मरण गराउन चाहन्छु । यो सहर सजिलो छैन यो सहर संवेदनशील होइन । यहाँ समाचारभन्दा ठूलो हुन्छ स्वार्थ र पत्रकारभन्दा बलियो हुन्छ।
सत्ताको दवाव तिमी नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको कार्यसमिति सदस्य बनेका छौ, सूचना अधिकारीको जिम्मेवारी पाएको छौ, तर प्रश्न के छ भने के तिमी यी पदहरूलाई सत्तासँग सम्झौता गर्न होइन पत्रकारिता र सार्वजनिक उत्तरदायित्वका लागि प्रयोग गर्न सक्छौ ?
मैले देखेको छु तिमीलाई अफ्ठ्यारोमा पार्न खोज्ने अनुहारहरू, तिमीबाट गल्ती खोज्ने नजरहरू, अनि तिमी सफल हुँदा पनि सहन नसक्ने मनोवृत्तिहरू तर मलाई थाहा छ तिमीमा एउटा विशेषताभन्दा बढी गहिरो मूल्य छ । त्यो हो सच्चाइप्रति समर्पण ।
तिमीले जुनसुकै स्थितिमा पनि कलम नथाक्ने, सत्य नछाड्ने र निष्पक्षता नबिर्सने बाचा गरेको देखिन्छ । यही कारण हो कि आज म यो खुला पत्रमार्फत भन्न चाहन्छु तिमी पत्रकार होइनौ तिमी यो पिँढीको प्रतीक हौं । जसले ब्यहोरेर लेख्छ, सत्य बोल्छ, अनि जता पीडा भएपनि सहेर लड्छ ।
म विश्वास गर्छु अब तिमीले केवल समाचार लेख्ने हैन अब तिमीले संस्थागत परिवर्तनको नेतृत्व गर्नेछौ ।
पत्रकारिता संस्थाभित्र रहेका गुटबन्दी, अवसरवादी प्रवृत्ति र स्वार्थमूलक चलनहरू विरुद्ध तिम्राे जिम्मेवारी अझ व्यापक छ ।
तिमी सहज रह तर चेतनशील रह नम्र रह तर निर्भीक रह । किनभने तिमीले पाएको पद तिमीले लेखेका समाचार र तिम्राे मौनतासमेत यस समयमा अर्थ राख्छ । सत्यको यात्रामा तिमीलाई हिँड्नेलाई धक्का दिनेहरू धेरै हुनेछन् तर सहयात्री बन्नेहरू पनि कमी छैनन् ।
तिमीलाई सम्झाउने यो प्रयास मेरो कर्तव्य थियो एक दाजुको नाताले एक पत्रकारको नाताले र एक साँचो न्यायप्रेमीको नाताले ।
तिमीलाई सधैँ साथ दिनेछु ।
तिमीमाथि सधैँ गर्व गर्नेछु ।
सधैँ तिम्रो साथमा रहने छु ।
रमेश कुमार बोहोरा / सचिव : नेपाल पत्रकार महासंघ काठमाडौं, शाखा
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ