बझाङ । जयपृथ्वी नगरपालिका, बझाङमा प्रमुख प्रशासकीय अधिकृतको संलग्नतामा कानुनी प्रक्रिया विना क्रसर उद्योग सञ्चालन गरिएको आरोप सार्वजनिक भएपछि स्थानीयवासीहरू आक्रोशित बनेका छन् ।
स्थानीयका अनुसार, जयपृथ्वी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिद्धराज पण्डितले मासिक कमिसनको आधारमा खाराबगरमा सञ्चालन भइरहेका क्रसर उद्योगलाई मौन सहमति दिएका छन् ।
सो उद्योग निर्माण व्यवसायी शेरबहादुर बोहराले सञ्चालन गर्दै आएका हुन् ।
एक स्थानीय बासिन्दा भन्छन्,
“क्रसर उद्योग सञ्चालनका लागि निश्चित कानुनी प्रक्रिया छन्, जुन पूर्ण रूपमा बेवास्ता गरिएको छ । वातावरणीय मूल्याङ्कन, अनुमति पत्र, तथा अन्य मापदण्ड पूरा नगरी उद्योग सञ्चालन भएको हामीले बारम्बार देखेका छौँ । तर नगरपालिकाका अधिकारीहरू उल्टै उद्योग सञ्चालकसँग मिलेर काम गरिरहेका छन् ।”
त्यस्तै, स्थानीय एक वातावरण अधिकारकर्मीले भने, “उद्योगबाट निस्कने धुलो, धुवाँ र आवाजले यहाँको वातावरण अत्यन्तै दूषित भएको छ । खाराबगर नजिकका बोटविरुवामा धुलोको असर देखिन थालेको छ । यसले वातावरण, जैविक विविधता तथा मानव स्वास्थ्यमा गम्भीर असर पारिरहेको छ ।”
नेपालको वातावरण संरक्षण ऐन, २०५३ अनुसार कुनै पनि औद्योगिक गतिविधि संचालन गर्नुअघि वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) वा प्रारम्भिक वातावरणीय परीक्षण (आइइ) अनिवार्य छ । यस्तै, उद्योग व्यवसाय सञ्चालनसम्बन्धी मापदण्ड २०७६ अनुसार क्रसर उद्योग खोल्न जनघनत्व कम भएको स्थान, जलस्रोतबाट दूरी, ध्वनि र धुलो प्रदूषण नियन्त्रण र स्थानीय तहको अनुमति अनिवार्य गरिएको छ ।
तर खाराबगरमा सञ्चालित उद्योगले यी मापदण्डमध्ये कुनै पनि पुरा नगरेको स्थानीयको दाबी छ ।
नगरप्रमुखमाथि पनि गम्भीर प्रश्न
नगर प्रमुख चेतराज बजाल स्वयं सो उद्योगबाट उत्पादित सामग्री प्रयोग गरी घर निर्माण गराइरहेको आरोप लागेको छ ।
“जयपृथ्वी नगरपालिकाको फोहोर उठाउने ट्याक्टर प्रयोग गरी गिट्टि र बालुवा ओसारपसार गरिएको पाइयो । मेयर बजालका भाइको घर निर्माणका लागि नगरपालिकाको सम्पत्ति प्रयोग भएकोमा स्थानीयले गम्भीर आपत्ति जनाएका छन्,” एक स्थानीयले बताए ।
उनले थपे, “हाम्रो नगरपालिकाका गाडीहरू जनताका सेवाका लागि प्रयोग हुनु पर्ने हो, तर ती गाडीबाट मेयरले आफ्नै घरको निर्माण सामग्री ढुवानी गरिरहेका छन् । यो जनताको करको दुरुपयोग हो ।”
स्थानीयवासीहरूले उद्योगविरुद्ध पटक–पटक उजुरी दिए पनि नगरपालिकाले कानुनी रूपमा कुनै प्रक्रिया अघि बढाएको छैन ।
उल्टै उजुरी दिने व्यक्तिहरूलाई रूपमा दवाव दिने गरेको उनीहरू बताउँछन् ।
वडा नम्बर ८ का एक जनप्रतिनिधिले नाम नखुलाउने शर्तमा बताए, “हामीले नगरपालिकामा विषय उठाउने प्रयास गरेका थियौँ, तर नगरप्रमुख र प्रमुख प्रशासकिय अधिकृतको मिलोमतोको कारण सबै प्रक्रिया रोकिएको छ । जनताको समस्या भन्दा माथि अधिकारीहरूको कमिसनमुखी सोचले नगरलाई बन्धक बनाएको छ ।”
यस सम्बन्धमा प्रमुख प्रशासकिय अधिकृत शिद्धराज पण्डित भन्छन्: –
“मेरो मिलेमतो छैन । म जयपृथ्वी नगरपालिकामा आउनु भन्दा पहिलेदेखिनै शेरबहादुर बोहोराको क्रसर सन्चालनमा थियो ।
अहिले मसँग केही गुनासो पनि आएको छ, त्यसैले म यो बारेमा के भएको हो बुझ्दै छु । साथै, यसबारेमा थप के गर्ने भनेर प्रमुख जिल्ला अधिकारीसँग छलफल गरिरहेको छु । यो अबैध व्यवसाय बन्द गर्नु पर्छ ।”
नगर प्रमुख चेतराज बजालले भने क्रसरलाई अनुमति दिइएको स्वीकार्दै थप स्पष्ट पारे:-
“अनुमति दिएको हो, एक वर्षको लागि मागिएको थियो । साधन, गिट्टि सहयोग लिएको हुन सक्छ । कहिलेकाहीँ सहयोग भन्ने कुरा भैइहाल्छ । मेरो घरको लागि होइन, भाइको घर निर्माणको लागि हो । हामीले तीन वर्षअघि सो कम्पनीलाई अनुमति दिएका थियौँ । अहिले नविकरण छ कि छैन, मलाई थाहा छैन । थप बुझेर आवश्यक परे हामी उत्खनन बन्द गर्न तयार छौँ ।”
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ