धनुषाको मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोमाथि स्थानीय व्यापारीलाई दुःख दिने र शक्ति दुरुपयोग गर्ने आरोप लागेको छ। विभिन्न विवादमा तानिँदै आएका मेयर महतोले सार्वजनिक सम्पत्ति तथा सडक अतिक्रमण हटाउने नाममा व्यापारीलाई लक्षित गरेको आरोप स्थानीयले लगाएका छन्।
ढल्केवरस्थित एक होटलका सञ्चालकका अनुसार नगरपालिकाले निजी जग्गामा बनेको भवनमा जबरजस्ती डोजर चलाउने प्रयास गरेको छ। सम्बन्धित पक्षले नक्सा पास गरेर निर्माण गरिएको पाँचतले भवनमा बिना सहमति हस्तक्षेप गरिएको दाबी गरेका छन्।
यस विषयमा अदालत पुगेपछि उच्च अदालतले निषेधाज्ञा जारी गर्दै कानुनी प्रक्रिया र उचित क्षतिपूर्ति बिना निजी सम्पत्तिमा हस्तक्षेप गर्न नमिल्ने स्पष्ट पारेको छ। साथै सार्वजनिक संरचना निर्माण गर्दा निजी सम्पत्तिमा न्यून असर पर्ने गरी काम गर्न निर्देशन दिएको छ।
तर, अदालतको आदेशपछि पनि तोडफोड प्रयास जारी रहेको आरोप छ। प्रभावित पक्षले यस्तो कार्यलाई अदालतको अवहेलना भन्दै आवश्यक कानुनी कदम चाल्ने चेतावनी दिएका छन्।
यस घटनापछि स्थानीयस्तरमा विरोधसमेत भएको छ भने अवस्था नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको जनाइएको छ।
(साभार: nagarikmirror.com )
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ