बुधबार, फाल्गुन ६, २०८२

त्रिशूली नदीमा दाहसंस्कार भइरहेको चिता बाढीले बगायो

धादिङ —

धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ स्थित चरौंदी नजिकै त्रिशूली नदी किनारमा दाहसंस्कार गरिँदै गरेको चिता बाढीले बगाएको छ।

गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलिया ‘विवेक’ का अनुसार, एक आफन्तको मंगलबार बिहान ५ बजे निधन भएपछि शवलाई चरौंदीस्थित त्रिशूली किनारमा अन्त्येष्टिका लागि लगिएको थियो।

तर बिहान साढे ९ बजेतिर अचानक नदीमा बाढी आएपछि, झन्डै पूर्णरूपमा जलिसकेको शवसहित चिता बगाएको उनले जानकारी दिए।

“शव त लगभग जलिसकेको थियो, तर चिता अझै पूरै जलेको थिएन। त्यत्तिकैमा बाढी आयो र चिता बगायो,” अध्यक्ष थपलियाले भने।

वडा नम्बर ७ का अध्यक्ष कुमार बस्नेतले चिता बगाएको दृश्य भिडियोमा कैद गरी सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्।

गाउँपालिका अध्यक्ष थपलियाले नदी किनार आसपासका क्षेत्रमा जोखिम हुनसक्ने भन्दै पहिले नै पूर्वसूचना जारी गरिएको पनि बताए।

“हामी सचेत भएर दाहसंस्कारमा सहभागी भएका थियौं। बाढीले चिता बगायो, तर सबैजना सुरक्षित छौं,” उनले भने।

यसैबीच, चीनतर्फबाट आएको बाढीका कारण रसुवामा कम्तिमा १८ जना बेपत्ता भएका छन्।

सोमबार राति आएको बाढीले रसुवागढी जलविद्युत आयोजना, भन्सार र सुख्खा बन्दरगाह लगायतका स्थानमा गंभीर क्षति पुर्‍याएको छ।

बन्दरगाहमा रहेका ७ वटा ईभी गाडी पनि बगाएको छ।

त्यसै बाढीको असर त्रिशूली नदीमा समेत देखिएको हो।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत