लण्डन, बेलायत — बेलायती प्रधानमन्त्री केइर स्टेइमरले इजरायललाई युद्धविराम र केही शर्तहरूको पालना नगरेमा प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको मान्यता दिने चेतावनी दिएका छन्। प्रधानमन्त्री स्टेइमरले सेप्टेम्बर महिनादेखि लागू हुने गरी यो नीति सार्वजनिक गरेका हुन्।
स्टेइमरका अनुसार, दीर्घकालीन शान्ति स्थापनाका लागि इजरायलले ठोस प्रतिबद्धता जनाउनुका साथै संयुक्त राष्ट्र सङ्घमार्फत उपलब्ध गराइने राहत सामग्री गाजामा सहज रूपमा पुर्याउन सहजीकरण गर्नुपर्नेछ।
यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बेलायतको निर्णयले हमासको गतिविधिलाई अप्रत्यक्ष सहयोग पुग्ने दाबी गरेका छन्। तर, बेलायती सरकारले भने यो निर्णयले युद्धविरामको बाटो खुल्ने विश्वास व्यक्त गरेको छ।
गत साता फ्रान्सले पनि प्यालेस्टाइनलाई अलग राज्यको रूपमा मान्यता दिने निर्णय लिएको थियो। फ्रान्स यस कदम चाल्ने जी–७ राष्ट्रहरू मध्येको पहिलो मुलुक बनेको छ।
आपतकालीन क्याबिनेट बैठकपछि आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री स्टेइमरले गाजाको बिग्रँदो मानवीय अवस्थाबारे गम्भीर चिन्ता व्यक्त गर्दै सुरक्षित इजरायल र सार्वभौम प्यालेस्टाइनको स्थापना बेलायतको प्राथमिक लक्ष्य रहेको पुनः स्पष्ट पारे।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ