सरकारले गत भदौमा देशका विभिन्न कारागारमा भएको दङ्गाका क्रममा फरार भएका ५,४७२ जना कैदीबन्दीको नामावली सार्वजनिक गरेको छ। कारागार व्यवस्थापन विभागले आइतबार आफ्नो वेबसाइटमार्फत उक्त सूची सार्वजनिक गर्दै उनीहरुको खोजी तथा पक्राउ अभियानलाई थप तीव्र बनाइने जनाएको छ।
गत भदौ २३ गतेदेखि विभिन्न कारागारमा भएको आन्दोलन र तोडफोडका घटनामा ठूलो संख्यामा कैदीबन्दीहरू फरार भएका थिए। त्यसयता हालसम्म ९,००८ जना कैदीबन्दीहरू पक्राउ परेको वा आफैँ कारागारमा सम्पर्कमा आएको विभागले जनाएको छ। अझै ५ हजार ५ सय ४७ जना फरार रहेको तथ्याङ्क सार्वजनिक गर्दै सरकारले उनीहरूको खोजीका लागि आम नागरिकसँग समेत सहयोगको अपिल गरेको छ।
गृह मन्त्रालयको गत असोज २६ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा “फरार बन्दी खोजी तथा पक्राउ कार्यदल” गठन गरी खोजी कार्य जारी राखिएको थियो। सोही अभियानलाई थप सशक्त र समन्वयात्मक बनाउन फरार कैदीबन्दीहरूको विस्तृत विवरण सार्वजनिक गरिएको हो।
विभागका अनुसार, फरार व्यक्तिहरूको सूची विभाग र गृह मन्त्रालयको वेबसाइटमा राखिएको छ। साथै, सबै जिल्ला प्रशासन कार्यालयहरूलाई विवरण पठाइएको र ती कार्यालयहरूले पनि आ-आफ्नो वेबसाइट तथा अन्य माध्यमबाट सूची सार्वजनिक गर्नेछन्।
कैदीबन्दी पक्राउ परेपछि सूचीलाई नियमित रूपमा अद्यावधिक गरिने र खोजी कार्यलाई थप प्रभावकारी बनाइने विभागद्वारा जारी सूचनामा उल्लेख छ।

























































देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ