जेनजी आन्दोलनपछि आफूलाई अभियन्ता बताउँदै विभिन्न संवैधानिक निकाय र संस्थानका प्रमुखहरूलाई धम्क्याउँदै हिँड्ने अर्जुन बहादुर शाही ठगी र बैंकिङ कसुरका अभियुक्त भएको खुलासा भएको छ। उनले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको राजीनामा माग्नेदेखि नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई घरबाटै थुत्नेसम्मको धम्की दिएका थिए।
तर, प्रहरीको रेकर्डअनुसार शाही आफैँ बैंकिङ कसुर मुद्दाका अभियुक्त हुन्। उनीविरुद्ध श्रीकृष्ण फुयाँल नामका व्यक्तिले दिएको जाहेरीका आधारमा प्रहरी वृत्त महाराजगञ्जले बैंकिङ कसुर मुद्दा चलाएको थियो। सोही मुद्दामा अदालतबाट पक्राउ पुर्जी जारी भएपछि पक्राउ परेका उनी ३० हजार रुपैयाँ धरौटीमा रिहा भएको अनुसन्धानमा संलग्न एक अधिकृतले जानकारी दिए।
यसअघि उनलाई वैदेशिक रोजगार विभागले ठगी मुद्दामा अनुसन्धानका लागि पक्राउ गरेको थियो। शाहीले चलाएको प्रोडक्सन कम्पनीले दिएको चेक बाउन्स भएपछि उनी कानुनी फन्दामा परेका थिए। उनीविरुद्ध प्रहरी वृत्त बौद्धमा पनि बैंकिङ कसुरको अर्को मुद्दा चलेको थियो। हाल उनका ३ वटा मुद्दा अदालतमा विचाराधीन अवस्थामा छन्।
जेनजी प्रदर्शनपछि सुशीला कार्की प्रधानमन्त्री बनेलगत्तै शितल निवासमा आयोजित शपथग्रहण समारोहमा समेत देखिएका शाहीले अन्तरिम सरकार गठन भएसँगै विभिन्न उच्च पदस्थ अधिकारीहरूलाई धम्क्याउने गतिविधि बढाएका छन्।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ