अन्तरिम सरकारमा मन्त्री बन्ने चर्चामा रहेका खगेन्द्र सुनारको नाम नेपाल प्रहरीको केन्द्रीय आपराधिक रेकर्ड सिस्टम (सीआरएस) मा दुईवटा मुद्दाका ‘फरार अभियुक्त’ को रूपमा दर्ता रहेको पाइएको छ । प्रहरीको चालचलन शाखा स्रोतका अनुसार, उनले दुईवटा अभियोगमा सजाय भुक्तान गर्न बाँकी रहेको देखिन्छ ।
सुनारविरुद्ध काभ्रेपलाञ्चोक जिल्ला अदालतमा विद्युतीय कारोबारसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएको छ, जुन मुद्दा अझै फर्स्यौट भएको छैन । यसैगरी, जिल्ला अदालत सुर्खेतले पनि २०८१ असार २१ मा जारी गरेको पक्राउ पुर्जीअनुसार उनी पक्राउ पर्न र सजाय भुक्तान गर्न बाँकी रहेको प्रहरी रेकर्डमा उल्लेख छ ।
यसबाहेक, सुनारविरुद्ध सर्वोच्च अदालतमा पनि मानहानीको मुद्दा विचाराधीन छ । नवराज विकको मुद्दामा उच्च अदालत सुर्खेतको फैसलाप्रति असन्तुष्टि जनाउँदै सुनारले अदालत परिसरमा हुलहुज्जत, तोडफोड र न्यायाधीशहरूविरुद्ध धम्कीपूर्ण अभिव्यक्ति दिएका थिए । यही घटनालाई आधार मान्दै अधिवक्ता मनिषा गौतमले गत वैशाख २१ मा उनीविरुद्ध मानहानीको मुद्दा दायर गरेकी हुन् ।
सर्वोच्च अदालतले सुनारलाई झिकाउने आदेश दिएपछि, उनले सर्वोच्चकी न्यायाधीश सपना मल्ल प्रधानविरुद्ध पनि गालीगलौजपूर्ण अभिव्यक्ति दिएका थिए, जसकारण अदालतले आफैं टिप्पणी उठाएर अर्को मुद्दा दर्ता गरेको थियो ।
अधिवक्ता गौतमका अनुसार, उनले सर्वोच्चमा मुद्दा हालेपछि सुनारले फेसबुकमा गौतमको तस्बिर र फोन नम्बर सार्वजनिक गर्दै ‘नेपाल बारकी होस् कि ठमेल बारकी’ जस्ता अभिव्यक्ति प्रयोग गरेर चारित्रिक लान्छना लगाएका थिए । गौतमले यसको स्क्रिनसटसहित साइबर ब्यूरोमा जाहेरी दिन जाँदा ब्यूरोले मुद्दा दर्ता गर्न अस्वीकार गर्दै उनलाई आफ्नो गृह जिल्ला काभ्रेको अदालतमा जान भनेर फर्काइदिएको थियो ।


देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ