काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको निधन भएको छ। काठमाडौंस्थित ग्राण्डी अस्पतालले जारी गरेको विज्ञप्तिअनुसार उनको आज दिउँसो १२:४५ बजे उपचारकै क्रममा निधन भएको हो।
अस्पतालका अनुसार सिटौला अछाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौंका पूर्वमेयर बालेन्द्र शाह (बालेन) को चुनावी प्रचारमा सहभागी भइरहेका बेला एक्कासी बेहोस भएका थिए। अवस्था गम्भीर भएपछि उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत तत्काल काठमाडौं ल्याई ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो।
अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएअनुसार सघन उपचार कक्षमा राखेर ४८ घण्टासम्म उपचार गरिए पनि उनको न्यूरोलोजिकल अवस्थामा कुनै सुधार देखिएन। मस्तिष्कको कार्यक्षमता फर्कने कुनै संकेत नदेखिएपछि चिकित्सकीय प्रोटोकलअनुसार एप्निया परीक्षण गरिएको थियो, जसको नतिजा पोजेटिभ आएको र स्वतः श्वासप्रश्वास नभएको पुष्टि भएको अस्पतालले जनाएको छ। त्यसपछि आज दिउँसो १२:४५ बजे उनको निधन भएको घोषणा गरिएको हो।
चिकित्सकहरूका अनुसार सिटौलालाई ‘सब–अरैक्नोइड हेमरेज’ भएको थियो, जुन मस्तिष्कमा हुने अत्यन्तै गम्भीर र ज्यान जोखिममा पार्ने रक्तस्राव हो। अस्पताल आइपुग्दा उनको चेतनास्तर अत्यन्तै न्यून रहेको र अवस्था नाजुक रहेको जनाइएको छ। थप रूपमा, अस्पताल ल्याइनुअघि करिब ४५ मिनेटसम्म उनको मुटुको चाल बन्द भएको थियो। सीपीआरमार्फत मुटुको चाल फर्काइए पनि लामो समय अक्सिजन नपुग्दा मस्तिष्कमा गम्भीर क्षति पुगेको चिकित्सकहरूले बताएका छन्।
सब–अरैक्नोइड हेमरेज प्रायः मस्तिष्कको नसामा भएको एन्युरिज्म फुट्दा हुने गर्छ। यस्तो समस्या धेरैजसो पहिल्यैबाट शरीरमा भए पनि लक्षण नदेखिने भएकाले समयमै पहिचान गर्न कठिन हुने चिकित्सकहरू बताउँछन्। अचानक उच्च रक्तचाप, अत्यधिक तनाव, धूम्रपान, मदिरा सेवन वा शारीरिक श्रमका कारण पनि एन्युरिज्म फुट्न सक्ने जोखिम रहन्छ।
यस रोगका प्रमुख लक्षणमा अचानक अत्यन्तै चर्को टाउको दुखाइ, वाकवाकी वा बान्ता, बेहोस हुनु, आँखा झिम्क्याउन गाह्रो हुनु तथा झट्का लाग्नु पर्दछन्। कतिपय अवस्थामा बिरामी एक्कासी ढलेर बेहोस हुने गर्छन्। यही कारणले यसलाई ‘थन्डरक्ल्याप हेडेक’ पनि भनिन्छ।
चिकित्सकहरूका अनुसार यो समस्या प्रायः ६० वर्षभन्दा माथिका व्यक्तिमा बढी देखिए पनि पछिल्लो समय कम उमेरका व्यक्तिमा समेत देखिन थालेको छ। उपचारका लागि तत्काल सघन उपचार कक्षमा राखी सीटी स्क्यान वा एमआरआईमार्फत अवस्था पत्ता लगाइन्छ र आवश्यक परे शल्यक्रिया वा कोइलिङजस्ता जटिल प्रक्रिया अपनाइन्छ। तर, प्रारम्भिक अवस्था अत्यन्तै गम्भीर हुने भएकाले सबै बिरामीमा सुधार आउने निश्चित नहुने चिकित्सकहरूको भनाइ छ।


देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ