काठमाडौं । निर्वाचनपछिको मतगणनाको नतिजा अब रेडियो, टेलिभिजन र अनलाइन सञ्चारमाध्यमसँगै मोबाइल एसएमएसबाट पनि थाहा पाउन सकिने भएको छ। डिजिटल सञ्चार समाधान प्रदायक कम्पनी आकाश एसएमएस ले सर्वसाधारणका लागि एसएमएसमार्फत ‘लाइभ अपडेट’ सेवा सुरु गरेको हो।
समाचार वेबसाइटहरूमा अत्यधिक ट्राफिक हुने, इन्टरनेट पहुँच सीमित रहने तथा स्मार्टफोन प्रयोग नगर्ने नागरिकलाई लक्षित गर्दै यो सेवा सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ।
कसरी लिने सेवा?
यो सुविधा प्रयोग गर्न मोबाइलको मेसेज बक्समा गएर:
EC <स्पेस> जिल्ला/क्षेत्रको नाम <स्पेस> क्षेत्र नम्बर टाइप गरी ३१००३ मा पठाउनुपर्नेछ।
उदाहरणका लागि, काभ्रेपलाञ्चोक क्षेत्र नम्बर १ को नतिजा जान्न ‘EC Kavrepalanchok 1’ लेखी ३१००३ मा पठाएपछि केही क्षणमै सम्बन्धित क्षेत्रको पछिल्लो मतपरिणाम एसएमएसमार्फत प्राप्त हुनेछ।
कम्पनीका भाइस प्रेसिडेन्ट राजन कोइरालाका अनुसार यो सेवा विशेषगरी दुर्गम तथा ग्रामीण भेगका नागरिक, इन्टरनेट सुविधा नभएका व्यक्तिहरू र वेबसाइटको भीडबाट बच्न चाहनेहरूका लागि उपयोगी हुनेछ। साधारण मोबाइल प्रयोगकर्ताले पनि सहज रूपमा निर्वाचनसम्बन्धी जानकारी पाउन सकून् भन्ने उद्देश्यले सेवा सुरु गरिएको उनले बताए।
यस सेवाबाट उपलब्ध गराइने मतपरिणामहरू निर्वाचन आयोग को आधिकारिक वेबसाइटमा आधारित हुने भएकाले सूचनाको विश्वसनीयता कायम रहने कम्पनीको दाबी छ।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ