काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले वैशाख १२ गते बिहानदेखि राजधानीका विभिन्न स्थानमा रहेका सुकुमबासी बस्ती हटाउने निर्णय गरेको छ।
प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेल को अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठक तथा काठमाडौँ महानगरपालिका का प्रतिनिधिसँगको छलफलपछि पहिलो चरणमा थापाथली, गैह्रिगाउँ र जडीबुटीस्थित मनहरा खोलाको किनारमा रहेका बस्ती हटाउने निर्णय गरिएको हो।
प्रशासनले वैशाख ११ गते साँझसम्म बस्ती खाली गर्न सूचना जारी गर्दै स्थानीयलाई सामान, चौपाया तथा बालबालिका, अपाङ्ग, गर्भवती र वृद्ध व्यक्तिलाई सुरक्षित स्थानमा सार्न आग्रह गरेको छ। तोकिएको समयपछि अवरोध सिर्जना गरे कडा कारबाही गरिने चेतावनीसमेत दिइएको छ।
वैशाख १२ गते बिहान ६ बजेदेखि डोजर प्रयोग गरेर टहरा हटाउने तयारी गरिएको छ। बस्ती खाली गराउने क्रममा आवश्यक सुरक्षा व्यवस्था मिलाउन जिल्ला प्रहरी परिसर काठमाडौँ तयार रहेको जनाएको छ।
साथै, आगामी १०–१५ दिनभित्र वास्तविक भूमिहीनको पहिचान गरी उनीहरूको बसोबास व्यवस्थापन गर्ने विषयमा पनि छलफल भइरहेको प्रशासनले जनाएको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ